'बेटी पढाउ, बेटी बचाउ' फ्लप भएपछि 'बेटी जिन्दावाद' अभियान सँचालन गर्दै मधेश सरकार
उनले बालविवाह रोक्नमा मात्रै केन्द्रित भयौँ भने चुनौती अझै थपिन सक्ने भन्दै बालविवाह किन हुन्छ भन्ने विषयमा पनि छलफल हुनु आवश्यक रहेको बताए । मधेश प्रदेशमा १८ वर्ष मुनिका २२।७ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्यांक छ ।

२०८१ असोज १४ सोमबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले बालिका संरक्षण तथा सशक्तिकरण ऐन कार्यान्वयनका लागि प्रदेश सरकारले बेटी जिन्दाबाद महाअभियान सञ्चालन गर्ने योजनामा रहेको बताएका छन् ।
जनकपुरधाममा आइतबार गरेको बाल विवाह न्यूनीकरण सम्बन्धी संवाद र छलफल कार्यक्रममा बोल्दै उनले 'बेटी जिन्दाबाद महाअभियान' सञ्चालन गर्ने तयारी थालेको बताए । सो अभियानले समाजमा विकृतिको रूपमा देखिएको बालविवाह न्यूनीकरणका साथसाथै दहेज प्रथाको उन्मुलन र बालिकाहरूलाई सशक्त बनाउनमा सहयोग पुग्ने बताए ।
सन् २०३० सम्ममा बालविवाह मुक्त प्रदेश घोषणा गर्ने सरकारको लक्ष्य अनुसार प्रदेश सरकारले सबैभन्दा पहिले मधेश प्रदेशमा बालिका संरक्षण तथा सशक्तिकरण ऐन ल्याएको बताए । उनले भूगोल र बाटोघाटोको मामिलामा अन्य प्रदेश भन्दा सुगम मानिएको मधेश प्रदेश मानवीय र सामाजिक विकासको क्रममा अन्य प्रदेश भन्दा पछाडि रहेको भन्दै वर्तमान अवस्थालाई हामी सबैले फेरिनु पर्नेमा जोड दिए ।
उनले मधेश प्रदेशमा बालविवाह न्यूनीकरणका लागि कार्यविधि तयार भइरहेको र त्यसलाई चाँडै पारित गरी कार्यान्वयनका लागि अगाडि बढ्ने बताए । उनले मधेश प्रदेशका दुई पालिका बालविवाह मुक्त घोषणा भइसकेको र केही घोषणा हुने क्रममा रहेको जानकारी दिँदै पालिकालाई बालविवाह मुक्त घोषणा गरेर मात्र जिम्मेवारी पुरा नहुने बताए । उनले घोषणा भएका पालिकाहरूमा निगरानी अझै बढाउनुपर्नेमा जोड दिए ।
उनले बालविवाह रोक्नमा मात्रै केन्द्रित भयौँ भने चुनौती अझै थपिन सक्ने भन्दै बालविवाह किन हुन्छ भन्ने विषयमा पनि छलफल हुनु आवश्यक रहेको बताए । मधेश प्रदेशमा १८ वर्ष मुनिका २२।७ प्रतिशतले बालविवाह गर्ने गरेको तथ्यांक छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…