जिल्ला प्रहरी कार्यालय सिरहामा मिटरब्याजको नाममा दलाली भइरहेको छ : नेता यादव
उनले यस्ता गतिविधिहरु जिल्ला प्रहरी कार्यालयमा बढनु चिन्ताजनक र अव्यवहारिक बताउँदै यसप्रति जिल्लाको प्रहरी प्रमुखले जिम्मासहित एक्सन लिनुपर्ने माग गरेका छन् ।

२०८० चैत २२ बिहीबार, बिहान १०:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गृह मन्त्रालयले मिटरब्याज सम्बन्धी मुद्दाहरु मिलाउन जिल्ला प्रहरी कार्यालयलाई जिम्मेवारी दिएपछि दलाली र भ्रष्टाचारी सुरु भएको आरोप लगाइएको छ ।
सिरहाको कर्जन्हा बस्ने एक नेताले मिटरब्याजको मुद्दा मिलाउने नाममा ४० प्रतिशतसम्म अधिक ब्याज दिलाएर पीडितलाई झन पीडा दिएको आरोप छ । मिटरब्याज सम्बन्धी मुद्दा लिएर जिप्रका सिरहा गएका कर्जन्हा बस्ने लालकिशोर यादवले गतिविधि र मुद्दा मिलाउने विधिप्रति खेद प्रकट गरेका छन् ।
जनता समाजवादी पार्टीका नेता एवम् कर्जन्हा नगरपालिकाकी उपमेयरकी श्रीमान समेत रहेका यादवले ऋणी र साहुसँग समेत रकम असुल्ने प्रवृति जिल्ला प्रहरी कार्यालय सिरहामा सुरु भएको उनले बताएका छन् । आफ्नो समाजिक सँजाल फेसबुकमा एक स्टेटस लेख्दै यादवले अनुचित लेनदेनको मुद्दालाई भँजाएर प्रहरी प्रशासन खाने गरेको आरोप लगाएका हुन् ।
उनले लेखका छन् –“ जिल्ला प्रहरी कार्यालय सिराहामा मिटर ब्याजीको नाममा ठूलो भ्रष्टाचार भइरहेको छ । मिटर ब्याजीको नाममा ऋणी र साहु संग पैसा वसुल गरिन्छ, जसले बढी पैसा दिन्छ त्यसको पक्षमा निर्णय हुन्छ, १० प्रतिशत ब्याज पन्ना र कानूनमा मात्र सीमित देखिन्छ । यहाँ ४० प्रतिशत भन्दा बढी ब्याज दिलाइन्छ, र कानुनको धाजिया उडाइन्छ ।मिटर ब्याजी को नाममा जिल्ला प्रहरी कार्यालयमा दिनहुँ मेला लाग्ने गरेको देखिन्छ, मेलमिलापको नाममा केही दक्ष प्रहरी बाहेक बाँकी सबै अनविज्ञ, अव्यवहारिक, अर्थात अनुचित लेनदेन समबन्धी कुनै तालिम प्राप्त नगरेका, वर्दी मात्र भए हुन्छ भन्ने कुरालाई प्राथमिकता दिई ,कानुन मिचेर, कानुनको दायरा बिर्सेर, बर्दीको आडमा भ्रष्टाचारलाई प्रोत्साहन गरेको देखिन्छ । म आफैले त्यहाँको बेतिथिलाई अध्ययन गरेको छु ।यसको सम्पूर्ण जिम्मा सिराहा जिल्ला प्रहरीका कार्यालयका एसपी साब (प्रहरी उपरीक्षक)ले लिनु पर्छ, यस त्रुटी, गैरजिम्मेवार,र गैर कानूनी प्रवृत्ति प्रति अविलम्ब तत्कालीन सबैको आशा र भरोसाका केन्द्र विन्दु गृह मन्त्री मा।रवि लामिछानेज्यूले एक्शन लिनुहुन्छ भन्ने विश्वास गर्दै यो पोस्ट शेयर गर्द्छु। या त यो अनुचित लेनदेन विधेयक खारिज गर, कि त कानुन बमोजिम लागू गर । धन्यवाद ।”
उनले यस्ता गतिविधिहरु जिल्ला प्रहरी कार्यालयमा बढनु चिन्ताजनक र अव्यवहारिक बताउँदै यसप्रति जिल्लाको प्रहरी प्रमुखले जिम्मासहित एक्सन लिनुपर्ने माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…