जनकपुरधाममा विवाहपँचमीको तयारीको लागि सर्वपक्षिय बैठक, प्रदेश सरकारले दिएनन् बजेट
सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुने गरेका छन् ।

२०८० मंसिर ११ सोमबार, बिहान ११:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यही मंसिर २६ गतेदेखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सन्दर्भमा जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आइ धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाइने चलन रहेको छ ।
रामायण अनुसार जनकपुरधामको रङ् गभूमिमा आयोजना गरिएको सो स्वयमवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता रहेको छ । बैठकले यही पृष्ठभूमिलाई सफल र भव्यता प्रदान गर्न मूल समिति, उपसमिति गठन र व्यवस्थापनका विविध आयामबारे छलफल र कार्यान्वयनमा जोड दिएको छ ।
समारोहका लागि १ सय ५१ स्दस्यीय मूल समिति र स्वास्थ्य, यातायात, सुरक्षा, खानेपानी, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सजावट, दीपावली उत्सवको व्यवस्थापनका लागि उपसमितिहरु पनि गठन गरिएको छ । गत वर्षमा प्रदेश सरकारले महोत्सवका लागि रु २० लाख रुपैयाँ विनियोजन गरेको थियो तर यस वर्ष प्रदेश सरकारले महोत्सवका लागि रकम विनियोजन नगरेकोप्रति सहभागीहरुले चिन्ता व्यक्त गर्दे रकम विनियोजनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने सुझाव दिएका छन् ।
सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २६ गते जनकपुरधाम नगर दर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव , ३० गते मटकोर, पुस १ गते स्वयमवर तथा विवाह उत्सव र २ गते राम कलेवा रहेको छ । यसका साथै विवाह पञ्चमीका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रमसमेत तय भएको छ ।
सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…