मधेशी जनताको अधिकारको लागि आफू संघर्षरत छुः यादव
उनले नेपाली कांग्रेस र एमालेले देशभरिको सबै उद्योगहरु बेचेर खाएको बताए । कम्युनिष्टहरुका कारण देश दिनप्रतिदिन दुर्घटनातर्फ धकेलिँदै गएको बताउँदै उनले देशमा बहुदलिय व्यवस्था लागु भएको ३४ वर्षदेखी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएपनि उनीहरु देश बनाउन नसकेको बताए ।

२०८० कार्तिक २० सोमबार, बिहान १०:०४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको हक अधिकारको लागि आफू संघर्षरत रहेको बताएका छन् ।
वर्तमान संविधान मधेश र मधेशी जनताको पक्षमा नरहेकोले संविधान संशोधन गरी मधेशी जनताको बाँकी रहेको अधिकार दिलाउन आफुहरु संघर्षरत रहेको उनले बताए । विगतमा आफुले गरेको मधेश जनविद्रोहको बलमा देशमा संघीयता आएको तर अहिले देशी विदेशी शक्तिले संघीयतालाई समाप्त पार्ने सडयन्त्रमा लागेको उनले आरोप लगाए ।
शासक वर्गले मधेशी, जनजाति, आदिवासी, थारु, अल्पसंख्यक, मुस्लिम लगायत समुदायलाई अधिकार दिन नचाहेको र पटक पटक भेदभावसमेत गर्दै आएकोले आउँदो २०८४ मा हुने तीनै तहको निर्वाचनमा मधेशलाई अधिकार दिन नचाहनेलाई आफ्ना अमूल्य मत नदिन उनले सबैलाई आग्रह गरे ।
शासक वर्गले अधिकार, विकास र समृद्धिको नाममा पटक–पटक मधेशीलाई ठग्ने काम मात्र गरेकोले मधेशी जनताले उनीहरुलाई अब राम्ररी सवक सिकाउने बेला आएको उनले टिप्पणी गरे । मधेशीको भोटबाट जितेर सत्तामा पुगेपछि शासक वर्गले मधेशीको माग र मुद्दा विर्सिने गरेका कारण ती शासक वर्गलाई अब सबैले सबक सिकाउनुपर्ने उनले धारणा राखे ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आयोजना गरेको वृहत्त पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले देशमा बहुदलिय व्यवस्था लागु भएपछि आम नागरिक अधिकार सम्पन्न हुने र देश विकासको गतिमा अगाडि बढ्ने विश्वास गरिएपनि बहुदलिय व्यवस्था लागु भएको ३४ वर्षदेखी देशको नेतृत्व गर्दैआएका कांग्रेस र कम्युनिष्टहरुले देशमा विकास गर्न नसकेको बताए ।
उनले नेपाली कांग्रेस र एमालेले देशभरिको सबै उद्योगहरु बेचेर खाएको बताए ।
कम्युनिष्टहरुका कारण देश दिनप्रतिदिन दुर्घटनातर्फ धकेलिँदै गएको बताउँदै उनले देशमा बहुदलिय व्यवस्था लागु भएको ३४ वर्षदेखी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएपनि उनीहरु देश बनाउन नसकेको बताए ।
उनले भने, ‘बहुदलिय व्यवस्था लागु हुनुभन्दा अघि देशमा मल कारखाना, कृषि औजार कारखाना, जनकपुरमा चुरोट काराखाना, विराटनगरमा जुट मिल, हेटौडामा कपडा कारखाना जस्ता सयौं उद्योग तथा कलकारखाना सञ्चालनमा रहेको थियो, जसमा लाखौं यूवाले रोजगारी पाएको थियो ।’
तर आज भन्दा ३४ वर्षअघि बहुदलिय व्यवस्था लागु भएपछि कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व गर्न थालेपछि देशका सबै उद्योग कलकारखाना बन्द भएको उनले बताए । लाखौं व्यक्तिले रोजगारी पाएको देशका ठूलाठूला उद्योग कलकारखानाहरु बन्द भएपछि लाखौं यूवाहरु अहिले रोजगारी नपाएर बेरोजगार भएको उनले बताए ।
देशमा अहिले रोजगारको अवसर सृजना नहुँदा रोजगार खोज्दै दैनिक हजारौं यूवाहरु अहिले मलेशिया, कतार, दुबई, सउदी लगाएतका खाडी मुलुकमा श्रम गर्न जान बाध्य भइरहेको उनले बताए । ३४ वर्ष यताका सरकारहरु देशका उद्योग कारखाना बन्द गराइ एउटा पनि उद्योग कलकारखाना खोल्न नसक्दा देश अहिले चरम गरिवि, अशिक्षा र बेरोजगारीको चपेटामा परेको उनले बताए ।
३४ वर्षदेखि लामो शासन गर्दै आएका कांग्रेस तथा कम्युनिष्टहरुले देशको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग कलकारखानालाई पुरै ध्वस्त बनाएकोले देश अहिले ठूलो आर्थिक भूमरीमा फसेको भन्दै उनले दुःख व्यक्त गरे ।
३४ वर्षमा देश विकास र देशको समस्या समाधान गर्न नसकेका कांग्रेस तथा कम्युनिष्टहरुले देश बनाउन असफल भइसकेको बताउँदै उनले असफल भइसकेका यी दलहरुबाट देश कहिल्यै बन्न नसक्ने ठोकुवा गरे ।
कांग्रेस तथा कम्युनिष्टहरुले कुनै हालतमा देशमा विकास गर्न र जनताको समस्या समाधान गर्न नसक्ने दावी गर्दै यादवले अब एकमात्र पार्टी जनता समाजवादी पार्टीले मात्र देशको निकास दिने तथा जनताको हरेकखाले समस्या समाधान गर्ने बताए ।
जनतालाई अधिकार सम्पन्न बनाउन र देशलाई विकासको गतिमा अगाडि बढाउन जसपा तयार रहेकोले सबैलाई जसपामा अहिलेदेखि नै लाग्न उनले आग्रह गरे । अर्को प्रसंगमा बोल्दै अध्यक्ष यादवले मधेशी जनतामाथी गोली चलाएर निर्माण गरिएको संविधान संशोधन नभएसम्म आफुहरुले स्वीकार नगर्ने बताए ।
मधेशले कहिले राजालाई त कहिले कांग्रेस, कम्युनिष्ट, राप्रपासमेतलाई विश्वास गरी जिताए तर तीनैलै नै मधेशीको हक अधिकार कुण्ठित गरेको उनले आरोप लगाए ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…