खुनी मुद्दामा राष्ट्रपतिबाट आममाफी पाएका रिगल लाई पुनः जेल चलानको तयारी
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ ।

२०८० कार्तिक १६ बिहीबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ ।
सर्वोच्च अदालतले कैद मिनाहा बदर गरेसँगै बाँकेका योगराज ढकाल (रिगल) ले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नेपालगञ्जको सेतु विक चोकमा रिगलले बिहीबार अपराह्न बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए।
‘सर्वोच्चको आदेशपछि हामीले रिगलको खोजी गरेका थियौं। उहाँले सेतु विक चोकमा प्रहरीसँग आत्मसमर्पण गर्नुभयो,’ डिएसपी डाँगीले भने, ‘उहाँले सर्वोच्चको आदेश पालना गर्ने बताउनुभएको छ।’
रिगललाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। ‘माथिबाट आदेश आएपछि उहाँलाई कहाँ पठाउने हो टुंगो लाग्छ,’ उनले भने।
रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।
रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…