निराहार व्रत जितिया पर्व आजदेखि सुरु
उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार, थुक वा जिब्रो टोके भने व्रत असफल भएको मानिने गरिन्छ । जसले गर्दा यस पर्वलाई खड् जितिया भनेर पनि भन्ने गरिन्छ । व्रतीले एक पटक असफल भएमा उनी आजीवन व्रत बस्न पाउने छैनन् ।

२०८० असोज १८ बिहीबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा श्रद्धापूवर्क मनाइने निराहार व्रत मध्येको जितिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।
आमाहरुले आफ्ना सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व हिन्दु धर्मावलम्बीहरुको लागि विशेष पर्वको रुपमा मनाईन्छ ।
आज नहाय खाय (स्नान गरी खानु) विधि गर्दै आजदेखि विधिवतरुपमा सुरु भएको हो । आज व्रत बस्नुअघिसम्म व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा स्नान गरी सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादको रुपमा चढाएर खाएर परिवारका सबै सदस्यलाई खुवाउने परम्परा रहेको छ ।
यस पर्वमा व्रतालुले विभिन्न जलासययुक्त सरोवरलगायत पवित्र सरोबर, तलाउ,, पोखरी तथा नदीमा स्नान गरेर जितमाहनको कथा आफु भन्दा ज्येष्ठ व्रतीबाट सुन्ने गर्दछन् । जनकपुरमा भने गँगासागर, धनुषसागर, अरगजा पोखरी लगायत सरोवर, तलाउमा नहाय खाए गर्ने गरिएको छ । गँगासागर पोखरीमा व्रतालुहरुको भीड लागेको छ ।
व्रत बस्नु अघिल्लो दिन व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउने परम्परा रहेको छ ।
देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि टाउको तथा शरीर भर नै लगाउने गर्छ । आज पहिलो दिन पूजा गरेपछि माछ मरुवा खाने चलन छ । मरुवा (कोदो) को रोटी, नुनीको साग र माछा खाने परम्परा रहेको छ । माछ मरुवा रोटी बासी खाने चलन छ ।
उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार, थुक वा जिब्रो टोके भने व्रत असफल भएको मानिने गरिन्छ । जसले गर्दा यस पर्वलाई खड् जितिया भनेर पनि भन्ने गरिन्छ । व्रतीले एक पटक असफल भएमा उनी आजीवन व्रत बस्न पाउने छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…