सर्लाही मलँगवाको घटनामा नयाँ ढँगले निर्णय लिनुपर्छः गृहमन्त्री श्रेष्ठ
नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको मुलुक भएकाले यसमा आँच पुर्‍याउने र खलल पार्ने कार्य भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउदै गृहमन्त्री श्रेष्ठले भने, ‘जान / अञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’

२०८० असोज ७ आइतबार, बेलुकी ६:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीको घटनाबारे गम्भिरतापूर्वक छलफल भईरहेको जानकारी दिएका छन् ।
विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही जिल्लास्थित दुई समुदायबीच तनाव उत्पन्न भएपछि गृहमन्त्री श्रेष्ठले सो सन्दर्भमा गहन छलफल भईरहेको जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सर्लाहीलगायत मधेश प्रदेशका जिल्लामा भइरहेका घटनाबारे आवश्यकता परेको खण्डमा नयाँ ढङ्गले निर्णय लिनसक्ने सङ्केत गरेका छन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले कोशी र मधेश प्रदेशको शान्ति सुरक्षासहितको वस्तुस्थितिबारे प्रशासन र सुरक्षा संयन्त्रमार्फत निरन्तर जानकारी लिने कार्य भइरहेको बताए ।
बैठकमा नेकपा ९एमाले०का रघुजी पन्त र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले सर्लाहीलगायतका जिल्लामा धार्मिक साम्प्रदायिक घटना गराउने प्रयासले तनाव बढिरहेकाबारे सरकारसँग जानकारी माग गरेका थिए ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र विविधताबीचको एकता रहेको मुलुक भएकाले यसमा आँच पुर्याउने र खलल पार्ने कार्य भइरहेको भन्ने सूचनाप्रति सरकार गम्भीर रहेको बताउदै गृहमन्त्री श्रेष्ठले भने, ‘जान / अञ्जानमा हो वा कुनै निश्चित उद्देश्य लिएर भइरहेको छ भन्ने प्रश्न उठेको छ, यसलाई गम्भीरतापूर्वक लिएका छौँ ।’
उनले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको भन्दै पछिल्लो समय अवस्था बिग्रिँदै गएकाले प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘मूलभूतरुपमा प्रशासनिक विधिबाट समाधान गर्दा आउन सक्ने चुनौतीको पाटोलाई ध्यान दिँदै वैचारिक, राजनीतिक ढङ्गले वातावरण बनाएर समाधान खोज्ने प्रयत्न भइरहेको छ । प्रशासनिक पक्षबाट पनि गम्भीर छौँ, सम्पूर्ण प्रशासन र प्रहरी समयन्त्रलाई कुनै कमजोरी हुन नदिन संयमपूर्वक अघि बढ्नेछौँ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…