फेसबुकमा 'मेयर चोर' लेखेपछि एक युवक पक्राउ
स्थानीय युवाहरूका अनुसार कुनै पनि व्यक्तिको नाम नै उल्लेख नभएको पोस्टको आधारमा साइबर क्राइम भनेर पक्राउ गर्नु गलत हो । ‘चन्दनजीले लेखेको पोस्टमा कहीँ कतै पनि कसैको नाम लेखिएको छैन, त्यो कसको लागि लेखिएको ठम्याउन सकिँदै सकिँदैन, यतिकैमा उनलाई पक्राउ गर्नु गलत हो,’ एक स्थानीयले भने ।

२०८० भदौ २७ बुधबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशस्थित पर्साको बहुदरमाई नगरपालिकाका युवा नेता चन्दन यादव पक्राउ परेका छन् । बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीविरुद्ध सामाजिक सञ्जालमा पोस्ट लेखेको कारण उनी पक्राउ परेको बुझिएको छ ।
यद्यपि उनलाई मेयर तेलीको दबाबमा प्रहरीले बिना कारण पक्राउ गरेको स्थानीय युवाहरूको गुनासो छ । नगरपालिकामा हुने गलत गतिविधि र अन्य अनियमितताविरुद्ध विभिन्न सामाजिक सञ्जालदेखि अन्य माध्यमबाट पनि निरन्तर आवाज उठाइरहने यादवलाई मेयर तेलीले आफ्नो राजनीतिक शक्तिको दुरुपयोग गर्दै पक्राउ गर्न लगाएको युवाहरू बताउँछन् ।
यादवलाई हाल इलाका प्रहरी कार्यालय पोखरियामा हिरासतमा राखिएको छ ।
यादवले सामाजिक सञ्जाल फेसबूकमा “चोर मेयर मुर्दावाद !!!! जनताको हक चोर्न पाइँदैन, जय बहुदरमाई” लेखेको भन्दै मेयर तेलीले उनिविरुद्ध साइबर क्राइमको उजुरी दिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहनविक्रम केसीले जानकारी दिए । यादवले गरेको उक्त पोस्ट भने सामाजिक सञ्जालबाट हटेको छ ।
स्थानीय युवाहरूका अनुसार कुनै पनि व्यक्तिको नाम नै उल्लेख नभएको पोस्टको आधारमा साइबर क्राइम भनेर पक्राउ गर्नु गलत हो । ‘चन्दनजीले लेखेको पोस्टमा कहीँ कतै पनि कसैको नाम लेखिएको छैन, त्यो कसको लागि लेखिएको ठम्याउन सकिँदै सकिँदैन, यतिकैमा उनलाई पक्राउ गर्नु गलत हो,’ एक स्थानीयले भने ।
नगरपालिकामा हुने गलत गतिविधिविरुद्ध आवाज उठाउँदा कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु मानव अधिकारको घोर उलङ्घन भएको मानवअधिकार कर्मी बिपी साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…