सोनमा गाउँपालिका अध्यक्ष यादवले देखाए दादागिरी, विद्यार्थीहरुलाई कोठा पसेर प्रहरीले गरे कुटपिट
विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए ।

२०८० भदौ १९ मंगलबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर यादवले दादागिरी प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष यादवले गैर कानुनी र विद्यार्थीको भावना विपरित शिक्षक सरुवा गर्न थालेपछि विद्यार्थीहरुले विरोध गर्दा प्रहरी लगाएर कुटपिट गराएका छन् ।
गाउँपालिका अध्यक्षको मनोमानी र दादागिरीले उत्पन्न विवादपछि सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो ।
मंगलबार दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ । प्रहरीमाथि पनि विद्यार्थीले ढुंगामुढा गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रुग्यास हानेको हो ।
विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा संलग्नहरु विद्यार्थी भएकाले संयमता अपनाएर स्थिति समान्य बनाउने प्रयास गरिरहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीको ढुंगामुढाबाट केही प्रहरी समेत घाइते भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी व्यापक सँख्यामा परिचालन गरिएको छ ।
विद्यार्थीहरुले गाउँपालिका अध्यक्ष विशेश्वर यादवले गैर कानुनी रुपमा शिक्षकहरुलाई सरुवा गर्न थालेपछि विरोध गर्दा प्रहरी लगाएर कुटपिट गराएको आरोप लगाएका छन् ।
उनीहरुले गाउँपालिका अध्यक्ष यादवलाई पटक पटक शिक्षक सरुवा नगर्न भनेपछि आफ्नो राजनीतिक फाईदाको लागि सरुवा गर्दा विरोध गरेपछि प्रहरी लगाएर कुटपिट गराएको बताए ।
सोही क्रममा वडा नं. १ का वडाध्यक्ष अशोक यादवले गाउँपालिका अध्यक्ष विशेश्वर यादवप्रति एकलौटी र मनोमानीको आरोप लगाए । वडाध्यक्ष यादवले गाउँपालिका अध्यक्ष यादवले जहिले पनि दम्भ र दादागिरी देखाएको बताए । उनले नगरसभाको लागि समेत वडाध्यक्षहरुलाई कुनै सोधपुछ नै नगरी एकलौटी रुपमा नगर सभा गरेको आरोप लगाए ।
वडाध्यक्ष यादवले विद्यार्थीहरुलाई कुटाउनको लागि गाउँपालिका अध्यक्षले पूर्व योजना नै बनाएको आरोप लगाए । उनले आज विद्यार्थीहरुमाथि भएको कुटपिट गाउँपालिका अध्यक्षको सुनुयोजित घटना रहेको बताए ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…