सुन प्रकरण : राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिन म्याद
न्यूज ब्यूरो, काठमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा पक्राउ परेका राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिनको समय दिइएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमाथि हिरासतमा राखी अनुसन्धानका लागि बुधबार पाँच दिनको अनुमति दिएको हो । राहुललाई बुधबार दिउँ

२०८० भदौ १३ बुधबार, राति ९:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा पक्राउ परेका राहुल महरामाथि अनुसन्धानका लागि पाँच दिनको समय दिइएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलमाथि हिरासतमा राखी अनुसन्धानका लागि बुधबार पाँच दिनको अनुमति दिएको हो । राहुललाई बुधबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत रहेका महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।
२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो ।
अनुसन्धान र अभियोजनमा संलग्न स्रोतका अनुसार कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारेको थियो । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराको अर्का छोरा राहुलसँग २८ पटक फोन सम्पर्क भएको देखिएको थियो ।
८ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबु–छोरा संलग्न भएको भनेर प्रहरीको सीआईबीको प्रतिवेदनमा टेलिफोन नम्बरसहित किटान गरिएको छ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लुईसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबु–छोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट शक्तिको दुरुपयोग गरी उक्त सुन लिलाम गरी बिक्री गर्नेसम्मको योजना थियो । प्रहरीले कल डिटेल रेकर्डसहित बाबु–छोराको विवरण मात्रै खुलाएर अन्य आरोपितमाथि गत असार २७ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिसकेको छ । त्यसको एक महिना बितिसक्दासमेत प्रहरी, गृह प्रशासन र अभियोजन गर्ने निकायले उनीहरूमाथि सामान्य सोधपुछसमेत गरेको थिएन । तयही कारण आलोचना भइरहेका बेला सुन तस्करीको छानबिनका लागि राहुललाई प्रहरीले पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…