सर्लाहीमा ६५ जना मिटरब्याजी फरार
सहायक प्रजिअ घिमिरेका अनुसार ३५ वटा उजुरी फर्छ्यौट गर्न बाँकी छ । परेको उजुरीमध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले छलफल गराइएको छैन ।

२०८० भदौ १० आइतबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी उजुरीका ६५ जना फरार सूचीमा परेका छन् । छलफलका लागि सम्पर्कमा नआएपछि उनीहरू फरार सूचीमा परेका हुन् ।
सर्लाहीमा १७ पालिका छन् । ती सबै पालिकाबाट मिटर ब्याज सम्बन्धी २८६ उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । जसमध्ये १६७ उजुरी छलफलबाटै फर्छ्यौट भएको छ । कानूनले तोकेको मूल धनको १० प्रतिशत ब्याज दिएर अधिकांश उजुरी मिलापत्र गराइएको छ ।
उजुरी फर्छ्यौट गर्न पीडित र पीडक दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयले बोलाउँछ । तर छलफलमा बोलाउँदा पटक पटक नआएपछि ६५ जनालाई फरार सूचीमा राखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
छलफलमा बोलाउँदा उपस्थित नहुनेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिल्यै चेतावनी दिएको थियो । सो बमोजिम ६५ जनालाई कारबाहीमा पर्ने देखिएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई समेत पत्राचार भइसकेको स्रोतले जनाएको छ ।
सहायक प्रजिअ घिमिरेका अनुसार ३५ वटा उजुरी फर्छ्यौट गर्न बाँकी छ । परेको उजुरीमध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले छलफल गराइएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…