हिन्दुहरुको प्रदर्शनको पूर्व संध्यामा धरानमा लगाईयो कर्फ्यू !
जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

२०८० भदौ ८ शुक्रबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धरान । धार्मिक सहिष्णुता बरकरार राख्नको लागि कोशी प्रदेशको धरानमा आजैदेखि कर्फ्यू लगाईएको छ ।
स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको सूचना जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट धरान शहरभित्र निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।
उनले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।
‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
नेपालको विभिन्न जिल्लाबाट हिन्दुहरुको विभिन्न सँघ सँगठन, भातृ सँगठन, धार्मिक सँगठनहरुले एकै पटक धरान प्रवेश गर्ने उदघोष गरेपछि धार्मिक सहिष्णुता कायम गर्न प्रशासनले कडा कदम चालेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…