नागरिकता काण्डः बिना बाउकै ७ भारतीयलाई नेपाली नागरिकता !
भारत बिहारको ग्राम पँचायत मतदाता नामाबलीमा चरौत भन्ने स्थानको लागि राजेन्द्र साह सुडीको अरिजनल नाम राजेन्द्र महतो रहेको छ भने रामलखन साह सुडीको नाम रामलखन महतो रहेको छ।

२०८० साउन ७ आइतबार, बेलुकी ७:१६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक भारतीय नागरिकको स–परिवारलाई नेपाली नागरिकताको प्रमाण पत्र दिएको प्रकरणमा नक्कली बाउ खडा गरिएको पाईएको छ ।
धनुषाको नगराईन नगरपालिका वडा नं. ४ र वडा नं. ५ ठेगाना (साबिक) राखिएको दुवै वडाका उत्तिम महतो नामक कुनै व्यक्ति नै नरहेको पाईएको छ । न्यूज ब्यूरोको अपरेशनको क्रममा राजेन्द्र साह सुडि नामले लिएको नेपाली नागरिताधारीहरु भारतीय नागरिक रहेका छन् । उनीहरुले नक्कली बुवा खडा गरेर नेपाली नागरिकता लिएको खुलेको हो ।
आफू नेपाली नागरिक रहेको दाबी गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ बस्दै आएका भारतीय नागरिक राजेन्द्र साह सुडीले सबै परिवारलाई नेपाली नागरिकता दिलाएका छन् । यसअघि ५ जनालाई नेपाली नागरिकता दिलाएको खुलेकोमा अहिले उनका भाई र उनका परिवारहरुलाई समेत नेपाली नागरिकता बनाइएको पाईएको छ ।
नेपाली नागरिकता नम्बर ३९६९२४८० मा रामलखन साह सुडिले उत्तिम साह सुडिलाई बुवा बनाएर नागरिकता लिएका छन् । उनका भाई राजेन्द्र साह सुडीको नागरिकतामा समेत उत्तिम साह सुडी बुवाको नाम लेखिएको छ ।
राजेन्द्र साह सुडी र रामलखन साह सुडीको बुवा एउटै उल्लेख छ । तर, नगराईन नगरपालिकाको साबिक वडा नं. ४ र ५ मा उत्तिम साह सुडी नामक कोही व्यक्ति नै नभएको खुलेको छ । निर्वाचन आयोगको मतदाता नामाबलीमा समेत उत्तिम साह सुडीको नाम उल्लेख छैनन् ।
अपरेशनको क्रममा खोजबिन गर्दै जाँदा वर्तमान जनकपुरधाम उपहानगरपालिका वडा नं. ७ बस्दै आएका राजेन्द्र साह सुडी (भारतमा राजेन्द्र महतो) र जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ बस्दै आएका रामलखन साह सुडी (भारतमा रामलखन महतो) को बुवा एउटै हो । तर, सो नामका कोही व्यक्ति नै छैनन् ।

धनुषाको फुलगामाबाट महतोले २०६४ सालमा नागरिकता नम्बर ३९६९४७३४ पाएका छन् । उनको छिमेकी मुलुक भारतको निर्वाचन प्रणालीमा समेत नाम दर्ता रहेको छ । भारतको बासिन्दा रहेका महतो विगत केही बर्षदेखि जनकपुरमा आएर बसी उनले लाखौँ रुपैयाँ पेलेर नेपाली नागरिकता पाएका हुन् । नेपाली नागरिकताको लागि सिडिओ, सहायक सिडिओ र सरकारका कर्मचारीसहित दलाल, बिचौलियाहरुले मदत गरेका थिए ।
नेपाली नागरिकतामा उनको बुवाको नाम उत्तिम साह सुडी, श्रीमतिको नाम बच्चिया देवी साह, आमाको नाम सुदामा देवी साह रहेको प्रष्ट छ । सोही हुबहु तथ्याँकमा थर मात्र परिवर्तन भारतको मतदाता नामाबली समेत देखिएको छ । यस हिसाबले उनी भारतीय नागरिक भएर जनकपुरमा आई नेपाली नागरिकता लिएर बस्दै आएका छन् ।
भारत बिहारको ग्राम पँचायत मतदाता नामाबलीमा चरौत भन्ने स्थानको लागि राजेन्द्र साह सुडीको अरिजनल नाम राजेन्द्र महतो रहेको छ भने रामलखन साह सुडीको नाम रामलखन महतो रहेको छ।

निर्वाचन आयोग नेपालले जारी गरेको २०७८ सालको मतदाता नामाबलीमा राजेन्द्र महतो र रामलखन महतोलाई समेत मतदाताको अधिकार दिएको देखिएको छ । उनको परिवारमाथि नागरिकता छानबिन गरिए भारतीय नागरिक ठहर हुने एक स्थानीयले बताए । नाम नखोल्ने शर्तमा स्थानीयले सो बेला सिडिओ, सहायक सिडिओ, सिडिओ कार्यालयका बिचौलिया दलालहरुले लाखौँ रुपैयाँ लिएर भारतीय नागरिकलाई नागरिकता दिएको बताए ।
यस सन्दर्भमा पटक पटक समाचार समेत प्रकाशित भएपनि प्रहरी, प्रशासनले सो सम्बन्धमा छानबिन गर्न नचाहेको आरोप पनि छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…