मधेश प्रदेश : बहुविवाह गर्न जन्ती लिएर भारत पुगेका बेहुला पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरी र बिहारको मधुवनी जिल्लाका प्रहरीको संयुक्त प्रयासमा बहुविवाह रोकिएको छ । बुधबार राति सप्तरीको राजविराज नगरपालिका-१५ देउरी भरुवाका रबिन्द्र सुतिहारले भारतमा गर्न लागेको बहुविवाह प्रहरी सक्रियताका कारण रोकिएको हो । रबिन्द्रको २०७५ साल फागुन २५ गते रेखा शर्मासँग सामाजिक

२०८० जेठ ५ शुक्रबार, बिहान ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरी र बिहारको मधुवनी जिल्लाका प्रहरीको संयुक्त प्रयासमा बहुविवाह रोकिएको छ ।
बुधबार राति सप्तरीको राजविराज नगरपालिका-१५ देउरी भरुवाका रबिन्द्र सुतिहारले भारतमा गर्न लागेको बहुविवाह प्रहरी सक्रियताका कारण रोकिएको हो ।
रबिन्द्रको २०७५ साल फागुन २५ गते रेखा शर्मासँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । रेखाका अनुसार विवाहमा ८ लाख नगद, १२५ सीसीको बजाज डिस्कभर मोटरसाइकल, २ तोला सुन, फ्रिज लगायत ३ लाखको फर्निचरको सामग्री तत्कालीन अवस्थामा रविन्द्रलाई दाइजोमा दिइएको थियो । उनीहरू दुवैको तीन वर्षीया छोरी समेत छन् । पछिल्लो समय दुवैजनाबीच विवाद छ ।
उनै रविन्द्रले जेठ ३ गते राति बिहारको मधुवनी जिल्लाको महदेवमंठ थाना अन्तरगत डकही गढिया गाउँमा १६ वर्षीय किशोरीसँग अर्को विवाह गर्न खोजेका थिए । सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीका अनुसार प्रहरीले रविन्द्र बहुविवाह गर्न तयारी भएको जानकारीपछि उनको खोजी बुधबार दिउँसोदेखि नै गरेको थियो । तर, रविन्द्र घरबाट फरार भएका थिए । उनी फरार भएपछि सप्तरी प्रहरीले बिहारको मधुवनी जिल्लाको प्रहरीसँग समन्वय गरेको थियो । भारतीय भूमिमा हुन लागेको विवाहलाई रोक्न आग्रह गरेको थियो ।
बुधबार दिउँसोदेखि विवाह रोक्न सक्रिय भएको सप्तरी प्रहरीले साँझ जन्ती जान लागेकाहरूलाई कुनौली नाकामा नियन्त्रणमा लिएको थियो । उनीहरूलाई रातभरी प्रहरीले नियन्त्रणमा लिएको थियो । अबेर राति बेहुला रबिन्द्र बिहारको डकही गढीया गाउँस्थित रघुवर शर्माकी १६ वर्षीया छोरीसँग विवाह गर्न पुगेपछि मधुवनी प्रहरीले उनलाई नियन्त्रणमा लिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले बताए ।
‘यो बहुविवाह र बालविवाह रोक्न हामी बुधबार रातभरि सक्रिय रह्यौँ,’ एसपी कार्कीले भने,‘बिहारको मधुवनी जिल्लाको प्रहरीको साथ र समन्वयमा हामी रोक्न सफल भयौँ ।’ भारतीय प्रहरीको नियन्त्रणमा रहेका रविन्द्रलाई सप्तरी ल्याएर आवश्यक कानुनी कारबाही गरिने एसपी कार्कीले बताए ।
कान्तिपुर दैनिकको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…