भारतीय नागरिकलाई नेपाली नागरिकता सिफारिस गर्ने वडाध्यक्ष साबिर पक्राउ
नागरिकता सिफारिस गरेका वडाअध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिएर अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान सुरु गरिएको डिएसपी पाण्डेले बताए ।

२०८० बैशाख ८ शुक्रबार, दिउँसो ३:३६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । नक्कली विवरणको आधारमा भारतीय नागरिकको नेपाली नागरिकता सिफारिस गरेको आरोपमा कलैयाका एकजना वडाअध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।
मावली हजुरबुवाको नामबाट वंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबुछोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
डिएसपी पाण्डेकाअनुसार कलैया१० मटिअर्वा गाउँ भएका ७५ वर्षीय जोधन साह तुराहा र छोरा बनेका २१ वर्षीय रमेश साह तुराहापनि पक्राउ परेका छन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ गरिएको डिएसपी पाण्डेले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
नागरिकता सिफारिस गरेका वडाअध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिएर अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान सुरु गरिएको डिएसपी पाण्डेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…