जयनगरदेखि बिजलपुरासम्म रेल सेवाको विस्तार हुँदै
यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजनाअन्तर्गत सो कार्य भएको हो ।

२०७९ साउन ५ बिहीबार, बेलुकी ७:२७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ ।
यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिए ।
“कुर्थादेखि १७।५ किलोमिटर रेल सञ्चालनका लागि लिक ९पटरी० हल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल र भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँदैछ ।”– उनले भने ।
यद्यपि थप सेवा उद्घाटनको मिति भने टुङ्गो नलागेको उनले बताए ।
उनले यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकाले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको बताए ।
महाप्रबन्धक झाले भारतीय इर्कन कम्पनीले करिब रु तीन करोड लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको जानकारी दिए ।
यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उनले जानकारी दिए ।
“नेपाल सरकारले बिजलपुरादेखि बर्दिवाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाका लागि जग्गा हस्तान्तरण गरेपछि तुरुन्त काम सुरु हुन्छ”, महाप्रबन्धक झाले भने, “यस खण्डमा जग्गाको मुआब्जाको विषयमा पनि टुङ्गो लागिसकेकोले अब तुरुन्त निर्माण काम सुरु हुन्छ ।”
सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो ।
भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएको भारतीय इर्कन इन्टरनेसनल कम्पनीले निर्माण थालेको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ ।
गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएको थियो ।
त्यस दिनदेखि जयनगर–जनकपुर कुर्थासम्म ३४।९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटर हुनेछ ।
बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ ।
यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर–कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भङ्गाहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजनाअन्तर्गत सो कार्य भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…