न्यूज ब्यूरो, काठमाडौँ | वैवाहिक अंगीकृत नागरिकता लिनका लागि सात वर्ष कुर्न नपर्ने गरी सरकारले नयाँ नागरिकता विधेयक ल्याउने तयारी गरेको छ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिनिधि सभामा गएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरेको थियो।
यो नागरिकता विधेयकमा नेपालका पुरूषसँग बिहे गरी आउने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने व्यवस्था थियो। तर यो व्यवस्थामा नेपाली कांग्रेस र मधेश केन्द्रित दलले असहमति जनाएका थिए।
सरकारले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक २०७५ लाई फिर्ता लिएर नयाँ विधेयक पेश गर्ने तयारी गरेको छ।
मन्त्रिपरिषद बैठकबाट नयाँ विधेयक पारित गरेर केही दिनमा प्रतिनिधि सभामा पेश गर्ने तयारीमा सरकार छ।
कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्न नपर्ने गरी नयाँ नागरिकता विधेयक ल्याइने जानकारी दिए।
उनकाअनुसार ०६३ मा जन्मसिद्धका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई अब वंशजका आधारमा नागरिकता दिने व्यवस्था पनि नयाँ नागरिकता विधेयकमा हुनेछ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले वैवाहिक अंगीकृतलाई नागरिकता दिँदा सात वर्षे हदम्याद हटाउने निर्णय आफूहरूलाई मान्य नहुने बताए। उनले नयाँ विधेयक ल्याए एमालेले विरोध गर्ने बताए।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…