५ बर्षदेखि खोक्रा निर्देशन दिएर जनता ठग्दै मुख्ममन्त्री राउत, कमलाको कहर कायमै
केही लाखको माटो पुरेर करोड रुपैयाँको खर्च देखाउने कमला सिँचाई आयोजना पनि नामसम्म मात्र सिमित रहेको देखिएको छ । यसपाली पनि सबैला नगरपालिका वडा नं. १३ मा बाँध भत्केर बस्ती डुबान हुने सम्भावना प्रवल रहेको छ ।

२०७९ असार १७ शुक्रबार, राति ९:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशमा संघीयता आएपछि बनेको प्रदेश सरकार मध्ये मधेश सरकार विपद व्यवस्थापनको लागि सबभन्दा कमजोर सरकारको रुपमा प्रस्तुति दिँदै आएको छ ।
तराई मधेशमा प्रत्येक बर्ष विपदाको रुपमा आउने बाढी, पहिरोको क्रम श्रृँखलाको दीर्घाकालिन उपायको लागि एउटा नै योजना नल्याएका मधेश सरकारले विगत ५ बर्षदेखि मात्र खोक्रा निर्देशन दिँदै जनता ठग्दै आएका छन् ।
धनुषा जिल्ला र सिरहा जिल्ला जोडने कमला नदीमा प्रत्येक बर्ष आउने पानीको उच्च बहाब र बाढीको प्रलयले आसपासका क्षेत्रका जनताहरु विस्थापित हुँदै गएपनि मुख्यमन्त्री राउतले प्रत्येक वर्ष निर्देशनको नाममा जनता ठग्दै आएका छन् ।
बाढी आईसकेपछि केही गर्ने अवस्था नहुँदा प्रदेश सरकार, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, कमला सिँचाई आयोजना धनुषा, कमला छेउका स्थानीय सरकारहरुले टाई–कोटे प्रदर्शनको लागि जाने क्रम अझै रोकिएको छैनन् ।
प्रत्येक बर्ष विपदा आईसकेपछि गरिने जनधनको क्षति न्यूनिकरणको अभ्यासले अपेक्षाकृत असर पार्न नसकेको सर्वविदितै छ । कमला छेउका स्थानीय सरकारका जनप्रतिनीधिहरुले असार र साउनमा समर भेकेसन मनाउने गरी सेल्फि मात्र खिच्न जाने प्रचलन नै भईसकेको छ ।
धनुषा जिल्ला तर्फबाट जनकनन्दिनी गाउँपालिकाको वडा नं. १, कमला नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ का नागरिक प्रत्येक बर्ष दुई महिना त्रासमय जीवन बिताउन बाध्य भएपनि मधेश सरकारले कुनै ठोस योजना नै नल्याई मात्र खोक्रो निर्देशन दिन थालेपछि प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनीधिप्रतिको विश्वास शून्य भएको छ ।
शुक्रबार मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा बन्दिपुर स्थित कमला व्यारेजमा आयोजित प्रदेश स्तरीय विपद व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्न पुगेका मुख्यमन्त्री राउतले पुनः खोक्रो निर्देशन नै दिए ।
उनले निर्देशन नदिएपनि प्रत्येक बर्ष नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले आफ्नो ज्यान जोखिममा राखेर विपदासँग लडदै आएको छ । विपदालाई न्यूनिकरणको लागि तीन तहको सरकारले अझै केही उखेल्न सकेका छैनन् ।
कमला नदीको कटान प्रत्येक बर्ष सोही अनुपातमा हुने गरिन्छ । कमला नदीको दुवै तर्फको तटबन्ध भारत सरकारले बनाईदिएको छ तर, क्षतिग्रस्त भएर वस्तीमा बाढी पसेर कैयौँ ज्यान जाने त्रास प्रत्येक बर्षको जौँ को त्यौँ रहेको भएपनि मधेश सरकारको निकम्मापनले कुनै प्रगति भने देखिएको छैनन् ।
पोखरी सौन्दर्यीकरणको नाममा करोडौँ रकम राखेर शून्य प्रतिफल पाउँदै आएका मधेश सरकारले अझै कमला नदीको तटबन्धको लागि कुनै पहल भने गरेका छैनन् । एक बर्षमा हुने ठोस र दीर्घकालिन कार्यको लागि पाँच बर्षसम्म कुनै साबुत योजना नल्याउँदा मधेशका मुख्यमन्त्रीको पूर्वाग्रही भावना छताछुल्ल भएको प्रष्ट छ ।
चुनावको बेला कमला नदीको तटबन्धलाई मुद्दा बनाउने, बाढी आईसकेपछि नीरिक्षणमा जाने, बजेट ल्याउने आश्वासन दिनेबाट यहाँका नागरिकहरु दिक्क भईसकेको अवस्थामा कमला सिँचाई आयोजनाले करोडौँ रुपैयाँ भन्दै माटोमा बगाएका छन् ।
केही लाखको माटो पुरेर करोड रुपैयाँको खर्च देखाउने कमला सिँचाई आयोजना पनि नामसम्म मात्र सिमित रहेको देखिएको छ । यसपाली पनि सबैला नगरपालिका वडा नं. १३ मा बाँध भत्केर बस्ती डुबान हुने सम्भावना प्रवल रहेको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…