जनकपुरः उम्मेदवारमाथि साँघातिक आक्रमणको प्रयास, धारिलो हतियार प्रहार गरी घरमै फाले
राती आएको समूहमध्ये एक जनालाई सहजै चिनेको र आवाजले समेत पहिचान गरेको बताएका छन् ।

२०७९ बैशाख २२ बिहीबार, बिहान ७:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित एक उम्मेदवारमाथि आक्रमणको प्रयास गरिएको छ ।
गएराती करिब १२ः३० बजेको समयमा कमला नगरपालिका वडा नम्बर १ मँगराहास्थित नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवमाथि आक्रमणको प्रयास गरिएको छ ।
उम्मेदवार सर्वदेव यादवमाथि आक्रमणको प्रयास विफल भएपछि उम्मेदवार यादवको बुवामाथि नै हतियार चलाइ गम्भिर घाईते बनाएको छ । उनलाई हतियार प्रहार गरी घरमै फालेर भागेको बताइएको छ ।
आउँदो ३० गते हुने स्थानीय तहको चुनावको लागि माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका सर्वदेव यादवको अन्दाजी बर्ष ७० को बुवा चन्द्र नारायण यादवमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएका छन् ।
राती १२ः३० बजेको समयमा आफ्नै घरमा सुतिरहेको वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवमाथि आक्रमण गर्न गएका अज्ञात समूहले ढोका फोडन नसकी बाहिरै बरण्डामा सुतेका उनको बुवामाथि धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएको बताइएको छ ।
घाईते यादवको शरिरको विभिन्न ठाउँमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाती एवम् नेकपा माओवादी केन्द्रका युवा नेता सुरेन्द्र यादवले बताए ।

घाईते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने विहान मात्र उनको होस आएको बताइएको छ । जानकारी अनुसार, होसमा आउने वित्तिकै घाईतेले एक जनाको नाम बयान दिएका छन् ।
सो क्रममा घाईतेका नाती पर्ने सुरेन्द्र यादवले कमला नगरपालिका वडा नम्बर १ का निवर्तमान वडाध्यक्ष राजकुमार यादवले ग्राण्ड डिजाइन गरी आक्रमण गराएको आरोप समाजिक सँजाल मार्फत लगाएका छन् । उनले फेसबुकमा निवर्तमान वडाध्यक्ष यादवले आक्रमण गराएको आरोप लगाएका छन् ।
यस आरोपबारे वडा नं. १ का निवर्तमान वडाध्यक्ष एवम् जसपाबाट पुनः उम्मेदवारी दिएका राजकुमार यादवले चुनावमा सान्तावनाको भोँट असुल्नको लागि आफैँ योजना बनाएर आफूलाई पोल्न खोजेको आरोप लगाए ।
चुनावी माहौलमा दयाको भोँट असुल्नको लागि आफैँ डिजाइन गरी आफैँ आक्रमण गराएर विपक्षीले जसपाका नेताहरुलाई सुनुयोजित फँसाउन लागेको दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, घटनाको तीव्र अनुसन्धान थालिएको बताउँदै शँकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान थालिने जनाएको छ ।
राती आएको समूहमध्ये एक जनालाई सहजै चिनेको र आवाजले समेत पहिचान गरेको बताएका छन् । यस बारे थप अपडेट बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…