मेयर गोईतद्धारा एकैदिन तीनटा वडामा स्वास्थ्यकेन्द्र संचालन, सबै वडामा स्वास्थ्य सेवा पहुँच
उदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले स्थानीय सरकारको हैसियतले वर्तमान मेयर रामउदगार गोईतले जनभावनाको कदर गर्दै हरेक वडामा स्वास्थ्य सेवाको पहुँच बनाउन सफल भएको भन्दै बधाई दिए ।

२०७८ चैत १४ सोमबार, बेलुकी ७:३४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित एकै दिन तीन वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरी सँचालन गरेका छन् ।
सोमबार कमला नगरपालिकाको वडा नम्बर १ मँगराहा, वडा नम्बर ६ सखुवा मडान र वडा नम्बर ३ लगमामा आधारभूत स्वास्थ्यकेन्द्र उदघाटन गरी आजैदेखि सँचालनमा ल्याएका छन् ।
उदघाटन समारोहको आयोजना गरी कमला नगरपालिका वडा नम्बर ३ लगमाको हनुमानचोकस्थित आधारभूत स्वास्थ्य केन्द्र सँचालन गरिएको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादवको अध्यक्षता तथा नगर प्रमुख राम उदगार गोईतको प्रमुख आतिथ्यमा उदघाटन गरी आजैदेखि सँचालनमा ल्याएको हो ।

सोही क्रममा वडा नंं ६ सखुवा मडानस्थित समेत नगर प्रमुख गोईतले आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरे भने वडा नम्बर १ मँगराहास्थित समेत आधारभूत स्वास्थ्य केन्द्रको उदघाटन गरेका छन् ।
वि.सं. २०७६ सालमै केन्द्र सरकारबाट स्वीकृति प्राप्त भएको स्वास्थ्य चौकी निर्माण भई सँचालनको लागि पर्खिरहेको बेला एकैदिन तीनवटै वडामा स्वास्थ्य सेवा सँचालनमा ल्याएको हो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर गोईतले दुई बर्षअघि नै भईसक्नुपर्ने काम प्राविधिक कारणले गर्दा सम्पन्न हुन नसक्दा सँचालनमा आउन नसकेको बताए ।

औषधी उपचारको लागि पनि एक वडाबाट अर्को वडामा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कमला नगरपालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुँच बनाएको बताए ।
उनले भने, –“कमला नगरपालिकाको लागि आज अर्को ऐतिहासिक दिन हो । दुई बर्षअघि हिडन पनि गाह्रो भएको अवस्थामा बिजुली ल्याएर ऐतिहासिक काम भएको थियो । आज नगरपालिकाको सबै वडामा स्वास्थ्य सेवा पहुँच भएको छ र एकैदिन तीनवटै वडामा स्वास्थ्य केन्द्रको उदघाटन हुनु पनि ऐतिहासिक दिनको रुपमा स्मरण गरिनेछ ।”
सो क्रममा मेयर गोईतले आफ्नै कार्यकालमा जनतासँग गरेको वाचा आज पुरा गरेको बताए । सोही क्रममा उपमेयर शिला देवी मण्डलले समेत आफू चुनाव लडदा आफ्नो घोषणा पत्र बमोजिम ९ वटै वडामा स्वास्थ्य सेवा पहुँच सहज बनाएको बताइन् ।

उदघाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले स्थानीय सरकारको हैसियतले वर्तमान मेयर रामउदगार गोईतले जनभावनाको कदर गर्दै हरेक वडामा स्वास्थ्य सेवाको पहुँच बनाउन सफल भएको भन्दै बधाई दिए ।
उनले वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नं. ६ का वडाध्यक्ष समसुल मियाँ र वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादवलाई विशेष धन्यवाद सहित प्रशँसा गरेका थिए ।
वडा नम्बर १ वासीहरु सिटामोल ल्याउन पनि दुबरकोट अर्थात वडा नम्बर ९ मा जानुपर्ने बाध्यता आजदेखि अन्त्य भएको वडाध्यक्ष राजकुमार यादवले बताए ।
उनले दुई बर्षअघि नै सँचालनमा आउने भएपनि सरकारको तथ्याँक र कागजी गडबडीको कारण सँचालनमा आउन नसकेको भएपनि आजदेखि निर्वाध रुपमा स्वास्थ्य केन्द्र वडा नं. १ मै सँचालन भएको बताए ।
.jpeg)
उनले भने, “वडावासीलाई अन्यत्र जानुपर्ने बाध्यता थियो , गरिब, दलित, सीमान्तकृत समुदाय, पिछडिएका वर्गहरुको लागि सरकारी अस्पताल मात्र सहारा हुन्छन् , तर वडा नंं ९ मै जानुपर्ने बाध्यताले गाउँमै चर्को मूल्यमा औषधी किन्नुपर्ने बाध्यता पनि थियो, आजदेखि यो बाध्यता हटेको छ । जे कमी हुन्छ हामी पूर्ति गर्नेछौँ । वडावासीलाई स्वास्थ्य सेवामा पहुँच बनाउन सफल भयौँ ।”
वडाहरुमा स्वास्थ्य केन्द्र सँचालनको लागि नगर स्वास्थ्य सँयोजक रामकुमार ठाकुरले सहजीकरण गरेका थिए भने कार्यक्रममा उदघोषण र सँचालन भने अमरेश यादवले गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता मनोहर ठाकुर, वडासदस्यहरु, स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, सँचारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…