हँसपुरमा ४ सालदेखि बनेन ५० मिटरको यो सडक, मेयर भन्छन् - 'एक हप्ताभित्रै बन्छ'
करिब ५० मिटर लामो मात्र रहेको सो सडक नबन्दा बर्षायाममा त्यहाँका करिब एक दर्जन घर परिवारलाई ओहोर दोहोर गर्न अधिक कठिनाई हुँदै आएको छ । सानो पोखरीको डीलबाटो रहेकोले बर्षायाममा दिनहुँ घरमा बिषालु सर्पहरु पस्ने गरेको गुनासो गरिएको छ ।

२०७८ फागुन ४ बुधबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको ५० मिटरको एक सडक बनाइदिन विगत ४ बर्षदेखि जनप्रतिनीधीहरुलाई गुहार लगाएपनि कुनै जनप्रतिनीधिले बनाइदिएनन् ।
हँसपुर नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको वडा कार्यालयको करिब १० मिटर पछाडीतर्फको ५० मिटर मात्र लामो बाटोमा माटो पुरिदिन स्थानीयहरुले ४ बर्षदेखि जनप्रतिनीधिहरुलाई खुसामद गर्दा पनि नबनाएपछि उनीहरुले “नो भोंट” को अवधारणा अगाडी ल्याएका छन् ।
वडा नम्बर ७ का वडाध्यक्ष रामसेवक मण्डलले केही दिन अगाडी मात्र आफूलाई अब चुनाव लडनु छैन, त्यसैले सडक बन्दैन भन्ने अभिव्यक्ति दिएका थिए ।
सोही क्रममा त्यहाँका स्थानीयहरुले एक साताभित्रै सडक बनाए कुनै पनि जनप्रतिनीधिलाई भोँट नहाल्ने अडान लिएका छन् । उनीहरुले आफूहरुलाई साधारण माटोको लागि ४ बर्षदेखि ठग्दै आएको आरोप लगाएका छन् ।
यस सन्दर्भमा हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले एक साताभित्रै सो सडक निर्माणको कार्य थालनी हुने बताएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा मेयर मण्डलले प्राविधिक पठाएर त्यहाँको अनुमानित लागत सदर गरी एक साताभित्रै सो सडक निर्माण कार्य हुने प्रतिवद्धता जनाएका छन् ।
करिब ५० मिटर लामो मात्र रहेको सो सडक नबन्दा बर्षायाममा त्यहाँका करिब एक दर्जन घर परिवारलाई ओहोर दोहोर गर्न अधिक कठिनाई हुँदै आएको छ । सानो पोखरीको डीलबाटो रहेकोले बर्षायाममा दिनहुँ घरमा बिषालु सर्पहरु पस्ने गरेको गुनासो गरिएको छ ।
सुख्खा मौसममा पनि सो बाटोमा सधैँ पानी जमि रहन्छ । एक स्थानीयले भने, “४ बर्षदेखि वडाध्यक्षलाई माटो पुरिदिन गुहार गर्दैछौँ, तर अझै सुनेन् । मेयर साहबले भनेपछि एक सातामा हेरौँ के हुन्छ । ”
मेयर मण्डलले सो सडकमा माटो र ग्राभेलको लागि बजेट विनियोजन गरिएको बताउँदै एक साताभित्रै निर्माण कार्य सुरु हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…