स्थानीय सरकारको चुनाव जेठ ४ गते !, चुनावमा १२ अर्ब रुपैयाँ खर्च हुने
राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ६ गते नयाँ पदाधिकारीले कार्यभार सम्हाल्ने गरी चुनाव गर्न लिखित रुपमै दबाब दिएकी छिन्।

२०७८ माघ १९ बुधबार, बिहान ९:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तहको निर्वाचन आउँदो जेठ ४ गते हुने लगभग पक्का जस्तो भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावको घोषणा गर्ने भएका छन् ।
२०७९ जेठ ५ मा निर्वाचित पदाधिकारीको कार्यकाल सकिने हुँदा एक दिनअघि चुनाव गर्ने गरी औपचारिक रुपमा मिति घोषणा हुने जानकारी सोमबार दिएका हुन् ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा देउवाले जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन्।
बानियाँले चुनाव कहिले हुन्छ भनेर सोधेकोमा जवाफ प्रधानमन्त्री देउवाले ‘चुनाव जेठ ४ गते हुने र यसको केही दिनमै मिति घोषणा गर्ने जवाफ फर्काएको बानियाँले जानकारी दिएका हुन् ।
भेटमा सहभागी कांग्रेस पूर्वकेन्द्रीय सदस्य किरण गिरीले समेत प्रधानमन्त्रीले जेठ ४ गते चुनाव हुने बताएको जानकारी दिए।
सत्तारुढ पाँच दलीय गठबन्धनको शनिबार बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ ६ गते नयाँ पदाधिकारीले कार्यभार सम्हाल्ने गरी चुनाव गर्न लिखित रुपमै दबाब दिएकी छिन्।
स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्चहुने अनुमान गरिएको छ । निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा यति रकम खर्चहुने अनुमान गरेको छ ।
मंगलबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो ।
आयोगले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अब हुने निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको हो । ‘एकै चरणमा निर्वाचन नभएमा निर्वाचन व्यवस्थापनमा हुने अनुमानित खर्चमा वृद्धि हुनेछ’ उनले भने ।
निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च र अन्य सुविधामा २०७४ सालमा भन्दा ३० प्रतिशत बढी खर्च हुने आयोगको अनुमान छ ।
त्यस्तै २०७४ सालपछि २० लाख मतदाता थपिएकाले मतदानस्थल, मतदान केन्द्र, मतपत्र र मतदान सामग्रीको खर्च वृद्धि हुने पनि आयोगको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…