सर्लाहीमा पनि लगाइयो निषेधाज्ञा
दुई पक्षबीचको झडपका कारण दर्जनौं सुरक्षाकर्मी तथा सर्वसाधारण घाइते भएका छन् ।

२०७८ पुस १३ मंगलबार, बेलुकी ५:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही प्रशासनले जिल्लाको दोस्रो व्यापरिक केन्द्र ईश्वरपुर नगरपालिकास्थित बयलबास बजारमा बुधबार साँझसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
दुर्घटनाको विषयलाई लिएर स्थानीयले गरेको प्रदर्शन चर्किएपछि प्रशासनले बयलबास बजार आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले सूचना जारी गर्दै मंगलबार दिउँसो ३ देखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लगाएको जानकारी दिएका हुन् ।
ईलाका प्रहरी कार्यालय केशरगंजबाट पूर्व सागरनाथ टोलसम्म, पश्चिममा रामपुर टोलसम्म, उत्तरमा सखुवनी टोलसम्म र दक्षिणमा खोरिया टोलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।
निषेधाज्ञा लगाइएका स्थानमा कुनै किसिमका भेला, हिँड्डुल तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
गस्तीमा निस्केको प्रहरी भ्यानमा ठोक्किएर आइतबार राति बयलबासका फेन्सी पसल सञ्चालक रामकुमार महतोको मृत्युपछि यो क्षेत्र तनावग्रस्त छ । आइतबार रातिको घटना प्रहरीले सोमबारमात्र जानकारी गराएको भन्दै स्थानीय आक्रोशित छन् ।

सोमबार र मंगलबार दिनभर व्यापारी तथा मृतकका आफन्त बयलबास बजारमा प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालय केशरगंजमा ढुंगामुढा ग
रे ।
प्रदर्शनकारीको एक समूहले सोमबार थप मद्दतमा खटिएका इलाका प्रहरी कार्यालयको गाडीसमेत जलाएका थिए । बयलबासमा प्रदर्शन उग्र बन्न थालेपछि नियन्त्रणका लागि प्रहरीले दर्जनौं अश्रुग्यास र रबरको गोली चलाएको छ ।
दुई पक्षबीचको झडपका कारण दर्जनौं सुरक्षाकर्मी तथा सर्वसाधारण घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारीसँग वार्ता गर्न त्यहाँका व्यापारी तथा मृतकका आफन्त सकारात्मक देखिए पनि प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएको थियो ।
दुर्घटनाको निष्पक्ष छानबिन, उचित क्षतिपूर्ति, दोषीमाथि कानुनी कारबाही र मृतकका छोराछोरीको पढाई खर्चका लागि थप १५ लाख दिनुपर्ने उनीहरुको माग छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…