नेपाली काँग्रेसको सभापति उम्मेदवारमा निधी कायम, मधेशीबाट तीन जना सह–महामन्त्रीमा
थारुतर्फ एक सह–महामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ ।

२०७८ मंसिर २७ सोमबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको सोमवार (आज) हुन गईरहेको निर्वाचनको लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
अन्तिम नामावली अनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ ।
शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
पाँच जनामध्येबाट सभापतिमा एकजना निर्वाचित गर्नुपर्ने छ । यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा। चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी कायमै छ ।
दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा. राजाराम कार्कीको उम्मेदवारी कायमै छ ।
एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ ।
आदिवासी जनजातितर्फ एक सह–महामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सह–महामन्त्री पदकालागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् ।
मधेशीतर्फ एक सह–महामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सह–महामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ ।
थारुतर्फ एक सह–महामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएपछि दुइ जनामात्र प्रतिस्पर्धामा छन् ।
पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सह–महामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…