अब धनुषाको यदुकूहामै इमर्जेन्सी सेवा सुरु, मेयर भन्छन् -'जनतासँग गरेको वाचा पुरा गरे'
इमरजेन्सीको लागि अन्य चिकित्सकहरु थपिने तयारी गरिएको छ भने अहिले डा. जय प्रकाश पण्डितले इमरजेन्सी सेवालाई हेरचाह गरिने

२०७८ साउन ३१ आइतबार, राति ८:४६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहास्थित आजदेखि ईमर्जेन्सी सेवा सुरु भएको छ ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विधिवत रुपमा ईमरजेन्सी (आकस्मिक) सेवा सुरु गरिएको हो । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले आईतबार बिहान इमरजेन्सी सेवाको उदघाटन गरेका हुन् ।
४ बेडको ईमरजेन्सी सेवाको लागि विभिन्न सुविधाहरु थपिएको छ । तत्काल जनकपुरपछि दोस्रो यदुकूहामै ईमरजेन्सी सेवा सुरु गरिएको मेयर बरबरियाले बताए ।
उदघाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख बरबरियाले कैयौँ वर्षदेखि सुरु हुन नसकेको इमरजेन्सी सेवा यहाँका जनतासँग करिब दुई वर्षअघि गरेको वाचा (वादा) पुरा गरेको बताए ।
उनका अनुसार, इमरजेन्सी सेवा २४ सै घण्टा सुचारु रहने तथा त्यसको लागि त्यहाँ सुरक्षाकर्मी (प्रहरी) समेत तैनाथ गरिने बताए । विभिन्न ठाउँबाट आउने आकस्मिक घटनाहरुको रिपोर्टिँगको लागि प्रहरी घटाइने बताइएको छ । 
शहिदनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलको अध्यक्षता तथा मेयर बरबरियाको प्रमुख आतिथ्यमा ४ बेडको इमरजेन्सी सेवाको उदघाटन गरिएको हो ।
सो क्रममा बोल्दै विभिन्न पार्टीका प्रतिनीधिहरुले मेयर बरबरियाले ढिलो भएपनि जनहितको कार्य गरेको भन्दै प्रशँसा गरे । स्थानीय समाजसेवी, बुद्धिजीवीहरुले समेत यदुकूहामै इमरजेन्सी सेवा सुरु हुँदा जनकपुर नै जानुपर्ने बाध्यता धेरै हदसम्म न्यून हुने धारणा राखे ।
मेयर बरबरियाले सो क्रममा अस्पतालको लागि जग्गा दान दिएका दानी सीताराम यादव (मृत्यू) को परिवारलाई पूर्णतः निशुल्क सेवा प्रदान गरिने प्रतिवद्धता सहित निर्देशन दिए । उनले अस्पतालका कर्मचारीहरुलाई दानी सीताराम यादवको परिवारको कुनै सदस्यलाई कुनै शुल्क नलिन निर्देशन दिए ।

उदघाटन समारोहमा सहभागी भएका जग्गादाता सीताराम यादवका छोरा प्रेम यादवले आफूलाई यतिको दिनमा पहिलो पटक अस्पतालको कार्यक्रममा बोलाएको गुनासो पोख्दै मेयर बरबरियाले मात्र बोलाएर सम्मान दिएकोप्रति कृतज्ञता व्यक्त गरे ।
उनले आफूलाई अझै थप जग्गा दान गर्न मन लागेपनि यहाँको प्रवृति देखेर सो पनि दिन मन नलागेको गुनासो गरेपछि मेयर बरबरियाले उनलाई सम्मान दिँदै उनको सम्पूर्ण परिवारलाई निःशुल्क उपचार गरिने प्रतिवद्धता जाहेर गरे ।
मेयर बरबरियाका अनुसार, केहीदिनभित्रै सोही अस्पतालमा एक्सरे सेवा, भिडियो एक्सरे सेवा, आधुनिक ल्याब समेत सँचालनमा आउने बताए । उनले अस्पतालको सरसफाई र ग्राउण्डमा वृक्षारोपण, फूलबारी लगाउन समेत निर्देशन दिए ।
उदघाटन समारोहमा सहभागीहरुले ढिलो भएपनि इमरजेन्सी सुरु हुँदा निकटमै बन्द हुन नदिन ठोस उपाय र नीति ल्याउन आग्रह गरेका थिए भने मेयर बरबरियाले ठोस नीति, निर्देशिका तहत मात्र इमरजेन्सी सेवा सुरु गरिएको बताए ।
सो क्रममा बोल्दै वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलले अस्पतालको आफ्नो कुनै आन्तरिक आर्थिक श्रोत नभएकोले सेवाग्राहीसँग रु. ५० का दरले इमरजेन्सी पुर्जी काटिने बताए । अन्य सहयोगहरु नगरपालिकाबाट गर्ने बताउँदै उनले केही आन्तरिक आम्दानीको लागि मात्र ५० रुपैयाँको पूर्जी काटिने बताए । वडाध्यक्ष मण्डल अस्पताल व्यवस्थापन समितिका समेत अध्यक्ष हुन् ।
इमरजेन्सीको लागि अन्य चिकित्सकहरु थपिने तयारी गरिएको छ भने अहिले डा. जय प्रकाश पण्डितले इमरजेन्सी सेवालाई हेरचाह गरिने जनाएको छ ।
उदघाटन कार्यक्रममा प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका प्रतिनीधि, स्थानीय बुद्धिजीवी, जग्गादाताका परिवार, इलाका प्रहरी कार्यालय यदुकूहाका प्रतिनीधि, सशस्त्र प्रहरी बल यदुकहाका प्रतिनीधि, नगरभरिका स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, सँचारकर्मी, अधिकारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…