प्रदेश २ः ओरकेष्ट्रामा नाच्न लगेकी ४ नेपाली युवतीको उद्धार
गत साता मात्रै उनीहरु बाराको कवही नाका हुँदै लुकिछिपी भारत प्रवेश गरेका

२०७८ साउन १२ मंगलबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १२ साउन । भारतमा आर्केस्ट्रामा नृत्य गर्ने काममा लगाइएका चार नेपाली युवतीको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र माइती नेपालको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालका अनुसार वीरगञ्जबाट करिब ३० किमी टाढाको भारतीय सहर छौडादानोबाट ती युवतीहरुलाई उद्धार गरी नेपाल ल्याइएको हो।
उद्धार गरिएका युवतीमा तीन जना झापाका र एक जना सुनसरीका छन्। जसमध्ये एक जना १६ वर्षीय र बाँकी ३ जना १९ र २० वर्ष उमेर समूहका युवती रहेका खनालले बताए। उनीहरुलाई नेपाल ल्याएर अभिभावकको जिम्मा लगाइएको छ।
पहिलेदेखि नै आर्केस्ट्रामा नृत्य गर्दै आएकी एक युवतीले बाँकी तीन युवतीलाई आर्थिक प्रलोभनमा पारेर भारत लगेको पाइएको प्रहरीले जनाएको छ। गत साता मात्रै उनीहरु बाराको कवही नाका हुँदै लुकिछिपी भारत प्रवेश गरेका खुलेको माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीले जानकारी दिइन्।
उनीहरुलाई दैनिक १५ सय भारु पारिश्रमिकको प्रलोभन देखाइएको थियो। छौडादानोमा अरु धेरै नेपाली युवती पनि आर्केस्ट्रामा नृत्य गर्दै आएका उद्धार गरिएका युवतीहरुले बताएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…