न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा रु ५६ लाख हालेर लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।
सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रुपैया खर्च गरिसके पनि अझै सो सडकमा पानी जमेको छ ।
उनले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ ।
यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाए ।
प्रदेश साँसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरुपयोग गरी व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरु आरोप लगाउँछन् ।
उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रु २१ लाख, दोस्रो पटक रु १६ लाख र तेस्रो पटक रु १५ लाख तथा पार्किङ्ग र जाली हाल्नका लागि रु।तीन÷तीन लाख गरी जम्मा रु ५६ लाख लगानी गर्नुभएको स्थानीयवासी उपेन्द्र यादवले बताए ।
सो पोखरी धनीहरु जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पति सडमा मिचेको आरोप लगाउएको छ ।
उनीहरुले प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाए ।
यस सम्बन्धमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उनले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताए ।
उनले आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउनु हुँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गरिन ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…