प्रदेश २ः सर्लाहीका सिडिओ र नेताबीच विवाद
जिल्लाका केही स्थानीय निकायहरुले स्वाब सङ्कलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।

२०७८ जेठ १४ शुक्रबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ ।
जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि जिल्लाका स्थानीय निकायका प्रमुखहरुले स्थानीय निकाय ‘सिल’ गर्नु पर्ने सुझाव दिएअनुसार निर्णय नगर्दा जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको हो ।
जिल्लामा झन्डै तीन महिनाअघि सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले कोरोना महामारीमा निषेधाज्ञा लगाउनेबाहेक अरू कुनै पनि सहकार्य नगरेको जनप्रतिनिधिहरूको आरोप छ ।
समुदायस्तरमा सङ्क्रमण फैलिएसँगै अक्सिजनको ज्यान गुमाउनेको सङ्ख्या बढेपछि प्रमुख जिल्ला अधिकारीलाई अक्सिजनको अभाव टार्न पटकपटक आग्रह गरिए पनि समस्याको समाधानतर्फ कुनै पहल नभएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए ।
जिल्ला प्रशासन कार्यालयबाट कोरोना सङ्क्रमणतर्फ कुनै पहल नभएपछि लालबन्दी, हरिवन, वागमती र इश्वरपुर नगरपालिका महामारीलाई रोक्न आफैं व्यवस्थापनमा जुटेका छन् ।
लालबन्दीले २० शैयाको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल बनाएको छ भने हरिवनले १०० शय्याको अस्थायी कोरोना अस्पताल बनाएको छ । ‘‘यो महामारीमा अक्सिजनको चाप रहेको बेला यसको व्यवस्थापन गर्न चुनौती छ’’, प्रजिअ तामाङ्ले भने ।
यस्तै लालबन्दी नगरपालिका—९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहितको २० शय्याको अस्थायी कोरोना अस्पताल, हरिवन नगरपालिकाले १०० शय्याको अक्सिजनसहितको अस्थायी कोरोना अस्पताल निर्माण गरिसकेको छ ।
जिल्लाका केही स्थानीय निकायहरुले स्वाब सङ्कलन र कन्ट्र्याक्ट ट्रेसिङलाई पनि प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…