यादव हत्या आरोपमा चार जना पक्राउ
पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् ।

२०७८ जेठ १० सोमबार, दिउँसो २:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई सोमबार पक्राउ गरेको छ ।
धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामदललाई उपचारका लागि बिहीबार विराटनगर लगिएको थियो ।
मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधबार राति धारिलो हतियारले निर्घात कुटपिट गरेको भन्दै रामदलका दाजु सरोवर यादवले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् ।
पक्राउ परेका आरोपितले गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधबार दिउँसो झगडा गरेको र सोही निहुँमा राति कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको सरोवरले बताए ।
पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् ।
चिकित्सकले आज मृत घोषणा गरेपछि शवपरीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…