संवाद, सहमति र एकताका  आधारमा देशलाई अघि बढाउने अभियानमा जुटौँः प्रम ओली

प्रधानमन्त्री ओलीले अध्यादेश मुलुकका कतिपय संरचनालाई चलायमान गराउन संवैधानिक व्यवस्थानुसार नै ल्याइएको स्पष्ट गरे । 

२०७८ बैशाख २७ सोमबार
बेलुकी ५:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र राजनीतिलाई  स्थिरता दिन आफूलाई विश्वासका पक्षमा मतदान गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावमाथि सदनमा उठेका प्रश्नको जवाफ दिँदै झुटो बोलेर देशमा तनाव, अनेकता र भ्रम फैलाउने काम नगर्न सुझाव दिए ।

प्रधानमन्त्रीले भने, “देश विकास गर्ने हामी सबैको जिम्मवारी हो, आपसमा वैमनष्यता र घृणा फैलाउने होइन, मिथ्या  राजनीति नगरौँ, देश बनाउने कुरा गरौँ, विभेदलाई अन्त्य गर्दै जानुपर्छ, त्यसका लागि सरकार लागेको छ, त्यसमा सबैको सहयोग आवश्यक छ ।”

जनताको मागका आधारमा संविधान संशोधन हुने बताउँदै उहाँले तर यसलाई मिच्ने काम कहीँकतैबाट हुनुनपर्ने बताए । कतिपय अवस्थामा देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कातिर हुने जनाउँदै निर्वाचन गर्दा लोकतन्त्र र संसदीय व्यवस्था खतरामा नपर्ने उनले स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले अध्यादेश मुलुकका कतिपय संरचनालाई चलायमान गराउन संवैधानिक व्यवस्थानुसार नै ल्याइएको स्पष्ट गरे । 

अविश्वासको प्रस्ताव  फिर्ता नलिने र विश्वासको मत पनि नदिने अवस्थालाई अन्त्य गर्न आफू विश्वासको मतका लागि अघि बढेको बताउँदै उनले विरोध गर्ने तर विकल्प नदिने परिस्थिति सिर्जना गरिनु ठीक नभएको टिप्पणी गरे । 

प्रधानमन्त्री ओलीले भने, “संसद्को विश्वास मसँग छैन भने मैले मार्गप्रशस्त गर्नुपर्छ, विकास र स्थिरता, सहकार्य र सहमतिका लागि म ठूलो पार्टीका हैसियतले न्यायोचित हक राख्छु । त्यसैले विश्वासको मत मागेको छु ।

प्रधानमन्त्री निर्वाचनमा जान्छ कि भन्ने आशंका भए पक्षमा मतदान दिएर चकनाचुर तुल्याउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले अहिलेको परिस्थितिमा संवाद, सहमति र एकताका  आधारमा देशलाई अघि बढाउने अभियानमा जुट्न आह्वान गरे । 

 प्रधानमन्त्रीको जवाफसँगै विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको मतदान प्रक्रिया शुरु भएको सभामुखले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus