पत्रकार महासंघमा मधेशको एकल उम्मेदवार 'बीपी साह'
उक्त आयोगले दिएको प्रतिवेदनका आधारमा अहिले विभिन्न मिडिया र नेपाल पत्रकार महासंघसमेत समावेशी सिटहरु छुट्याएको छ ।

२०७७ चैत २४ मंगलबार, बिहान ८:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा केन्द्रीय समितिको विभिन्न पदका लागि १ सय ६५ जनाले उम्मेदवारी दिएका छन् । देशैभरीबाट भोट पाउने खुल्ला उम्मेदवारमा एक जना मात्र मधेशी मूलका पत्रकार रहेका छन् ।
कुनै पनि पार्टीको प्यानलबाट नभई स्वतन्त्र रुपमा पत्रकार बीपी साहले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । ५ जना खुल्ला केन्द्रीय सदस्यका लागि २५ जनाले उम्मेदवारी दिएका छन् जहाँ २४ जना गैर मधेशी समुदायका छन् भने बीपी साह एक्लै मधेशी उम्मेदवार हुन् ।
जनकपुरधामबाट पत्रकारिता सुरु गरी १३ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार साह पत्रकारिता विषयमै स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।
‘पत्रकारिता स्वतन्त्र हुनु पर्छ भन्ने विश्वव्यापी मान्यता छ तर नेपाल पत्रकार महासंघको चुनावमा विभिन्न पार्टीको प्यानल खडा गरिएको छ ।’ साह न्यूजब्यूरोसँग भन्छन्,‘यसरी प्यानलबाट चुनाव जितेर आएका पत्रकारहरुले पत्रकार प्रति वफादार नभई पार्टीप्रति वफादार हुनु पर्नेछ । त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएको छु ।’

मधेशी कोटामा चुनाव लडेको भए सहजै जिते हुने सम्भावना रहेको भन्ने प्रश्नमा उनी भन्छन्,‘मधेशी कोटामा मधेशका जिल्लामा काम गर्ने सीमान्तकृत समुदायका पत्रकारलाई चुनाव लडाउनु पर्छ । जिल्लामा काम गर्ने साथीहरुलाई अवसर दिनु पर्छ । तर, यहाँ काठमाडौंमा बसेर मधेशीलाई गाली गर्नेहरु नै मधेशी कोटामा चुनाव लडेको देखिन्छ ।’
पत्रकार साह खुल्ला पदमा नै आफु चुनाव जित्नेमा विश्वस्त देखिएका छन् ।
मधेशसहित देशैभरी मिडिया साक्षरता बढाउने अभियानमा सक्रिय पत्रकार साह समावेशी पक्षधर हुन् । नेपालको सम्पूर्ण सञ्चार माध्यम र संस्थाहरु समावेशी हुनु पर्छ भन्दै उनले १३ दिनसम्म अनसन बसेका थिए । र, सञ्चार समावेशी उच्चस्तरीय आयोगमा बसेर सञ्चार समावेशीका लागि खाँका कोरेका थिए ।
उक्त आयोगले दिएको प्रतिवेदनका आधारमा अहिले विभिन्न मिडिया र नेपाल पत्रकार महासंघसमेत समावेशी सिटहरु छुट्याएको छ ।
‘पत्रकारिता तथा सञ्चार क्षेत्रमा मैले दिएको योगदान र मेरो क्षमताका आधारमा देशको ७७ वटै जिल्ला, प्रतिष्ठान र एशोसिएटहरुबाट मलाई मत आउने छ।’ साहले भने,‘मधेशको छोरा एक्लो उम्मेदवार भएकोले सम्पूर्ण मधेशी पत्रकारहरुले स्वभाविक रुपमा मलाई मतदान गर्नु हुनेछ । मिडिया साक्षरता, समावेशीता, मेरो व्यक्तिगत सम्बन्धका आधारमा र पत्रकार महासंघलाई राष्ट्रिय छबीको बनाउने हिमाल–पहाडबाट पनि ठूलो संख्यामा मलाई भोट आउनेछ । त्यही भएर मेरो जित सुनिश्चित छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…