टीकापुरमा आजदेखि होली शुरु
सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडा (Deuda) को अभ्यास गराइरहेको छ ।

२०७७ चैत ८ आइतबार, बिहान ८:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, कैलाली । कैलालीको टीकापुरमा आजदेखि होली (Holi)देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा (Holi Deuda) टीकापुरको खुलामञ्चमा शुरु हुनेछ ।
होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुर (Tikapur) ले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताउनुभयो ।
“संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ”, नगरप्रमुख रावलले भन्नुभयो, “होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ । संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ ।”
होली देउडा अष्टमीदेखि शुरु गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने प्रमुख रावलले बताउनुभयो । “रातिको समयमा होली देउडा खेल्न सुरक्षाका हिसाबले चुनौती छ”, उहाँले भन्नुभयो, “त्यसलाई व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।”
छलफलमा वडा नं १ का वडाध्यक्ष गङ्गाराम आचार्यले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताउनुभयो । देउडाप्रेमीले होली देउडा खेल्ने समय दिउँसो बढाएर रातिको समय छोट्याउनुपर्ने सुझाव दिएका छन् ।
“विगतका वर्षमा रातिको समयमा खेलिने देउडा अब राति खेल्न सुरक्षा नभएकाले दिउँसोको समय बढाएर दिउँसो मात्र खेल्न जरुरी छ”, देउडा संरक्षणकर्मी देवानन्द रिमालले भन्नुभयो, “संस्कृति पनि संरक्षण होस्, समय पनि व्यवस्थापन हुने गरी चाडपर्व मनाउनुपर्छ ।”
टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र प्रदेश नं ५ का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन् । सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन् । होली देउडा (Holi Deuda) खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ ।
सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडा (Deuda) को अभ्यास गराइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…