औषधि राख्ने फ्रिजरमा भेटियो ह्विलचेयर, मन्त्रीकै अनुगमनमा प्रादेशिक स्टोरको लापरबाही उजागर
अस्पतालको सेवा सुधारका लागि संघीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।

२०८३ मंसिर २ बुधबार, बिहान ९:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको औषधि राख्ने फ्रिजरमा ह्विलचेयर भेटिएको छ । संघीय सरकारकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मंगलबार गरेको अनुगमनका क्रममा औषधि भण्डारणका लागि प्रयोग हुने फ्रिजरमा ह्विलचेयर राखिएको भेटिएको हो ।
मधेश प्रदेश सरकार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको निरीक्षणका क्रममा यस्तो अवस्था देखिएको हो । मन्त्री मेहताले रक्तसञ्चार सेवा केन्द्र र औषधि आपूर्ति कार्यालयको समेत अनुगमन गरेकी छन् ।
अनुगमनपछि मन्त्री मेहताले अस्पतालको सेवा प्रवाह र सरसफाइमा कमीकमजोरी देखिएको बताइन् । यस विषयमा अस्पताल प्रशासनसँग छलफलसमेत गरिएको उनले जानकारी दिइन् ।
अस्पतालको सेवा सुधारका लागि संघीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।
त्यस्तै, जनकपुर प्रादेशिक अस्पतालमा हाल १० शय्याको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा रहेको र थप २० शय्या विस्तार गर्ने तयारी भइरहेको मन्त्री मेहताले बताइन् । सेवा विस्तारपछि गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहजता आउने उनको विश्वास छ ।
स्वास्थ्यकर्मीमाथि हुने हातपात तथा दुर्व्यवहारका घटनाबारे उनले स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढेको र यस विषयले सदनमा प्रवेश पाइसकेको जानकारी दिइन् ।
तर, औषधि भण्डारण गर्ने फ्रिजरमा ह्विलचेयर राखिएको दृश्यले अस्पतालको व्यवस्थापन, सरसफाइ र स्वास्थ्य सामग्रीको उचित प्रयोगमाथि गम्भीर प्रश्न उठाएको छ । स्वास्थ्य सेवाको सुधारबारे मन्त्रीले प्रतिबद्धता जनाइरहँदा अस्पतालभित्र देखिएको यस्तो अवस्थाले व्यवस्थापकीय कमजोरीलाई समेत उजागर गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…