‘अल्लाहसँग भेट्न जानुछ’ भन्दै आत्मसमर्पण गर्न मानेनन् आतंकवादी लतीफ, भारतीय सेनाको गोलीले मारिए
लतीफको टाउकोमाथि सूचना दिनेलाई १५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो । उनी सन् २०२५ मा लश्कर–ए–तैयबामा आबद्ध भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०८३ मंसिर २ बुधबार, राति ८:१९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, भारत । भारतको जम्मु–कश्मीरस्थित कुलगाममा लश्कर–ए–तैयबाका एक मोस्ट वान्टेड आतंकवादी लतीफ भट मारिएका छन् । सुरक्षाकर्मीले आत्मसमर्पण गर्न आग्रह गर्दा ‘म अल्लाहसँग भेट्न जान चाहन्छु, म निकै खुसी छु’ भन्दै अस्वीकार गरेका लतीफ बुधबार बिहान सुरक्षाकर्मीको कारबाहीमा मारिएका हुन् ।
भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार २२ वर्षीय लतीफ कुलगाम जिल्लाको देभसर क्षेत्रस्थित जंगलपोरा गाउँको एक मस्जिदभित्र लुकेर बसेका थिए । उनलाई घेराबन्दीमा पारेपछि प्रहरीले भिडियो कलमार्फत आत्मसमर्पण गर्न आग्रह गरेको थियो ।
भिडियो कलमा एक सुरक्षाकर्मीले उनलाई आत्मसमर्पण गर्न आग्रह गर्दै आफूहरू साथमै रहेको बताएका थिए । तर लतीफले ‘मलाई अल्लाहसँग भेट्नुछ, म निकै खुसी छु । अल्लाह पाक मसँगै हुनुहुन्छ’ भन्दै आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए ।
प्रहरीले उनलाई सुरक्षित रूपमा बाहिर निस्कन र आत्मसमर्पण गर्न पटक–पटक आग्रह गरे पनि उनी तयार भएनन् । अन्ततः मस्जिदभित्रबाट सुरक्षाकर्मीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनी मारिएका हुन् । मस्जिदलाई क्षति नपुगोस् भनेर सुरक्षाकर्मीले विशेष संयमता अपनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सीआरपीएफमाथि आक्रमणमा संलग्न
भारतीय सञ्चारमाध्यमका अनुसार लतीफ नोभेम्बर ११ मा कुलगामको नौपोरा अखरानस्थित केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) को चेकपोस्टमाथि भएको आक्रमणमा संलग्न थिए । उक्त आक्रमणमा तीन सुरक्षाकर्मी घाइते भएका थिए ।
यसअघि नोभेम्बर १६ मा सुरक्षाकर्मीले अखरान क्षेत्रमा गरेको कारबाहीमा उनका सहयोगी उमर निसार डार मारिएका थिए । तर लतीफ गोली लागेर घाइते भए पनि त्यहाँबाट भाग्न सफल भएका थिए ।
लतीफको टाउकोमाथि सूचना दिनेलाई १५ लाख भारतीय रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो । उनी सन् २०२५ मा लश्कर–ए–तैयबामा आबद्ध भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एनडीटीभी, अमर उजाला र द फ्री प्रेस जर्नललगायत भारतीय सञ्चारमाध्यमले उनको मृत्यु र आत्मसमर्पण अस्वीकार गरेको भिडियो संवादबारे समाचार प्रकाशित गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…