आज नहाय–खाय, भोलि खरना र पर्सि आईतबार अस्ताउँदो सूर्यलाई अर्घ्य
जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।

२०८३ कार्तिक २७ शुक्रबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । लोकआस्थाको महापर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज शुक्रबार व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन् । यससँगै मिथिला क्षेत्रका घरघरमा छठको चहलपहल बढेको छ ।
नहाय–खायका दिन व्रतालुहरूले बिहान स्नान गरी घर तथा पूजास्थल सफा गरेर चोखो र शुद्ध भोजन ग्रहण गर्ने परम्परा छ । यस दिन विशेषगरी अरवा चामलको भात, चनाको दाल र लौकाको तरकारी खाने चलन छ । शुद्धता र पवित्रतालाई विशेष महत्व दिइने भएकाले छठको पहिलो दिनदेखि नै खानपान र सरसफाइमा विशेष ध्यान दिइन्छ ।
छठ पर्वअन्तर्गत भोलि शनिबार दोस्रो दिन खरना विधि गरिनेछ । खरनाका दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ दूध, चामल र सख्खरबाट खीर तथा रोटी तयार गरी छठीमातालाई अर्पण गर्छन् । त्यसपछि प्रसाद ग्रहण गरी व्रतालुहरूले निराहार व्रत सुरु गर्नेछन् ।
पर्वको तेस्रो दिन पर्सि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ । यसका लागि नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयमा बनाइएका छठघाटमा व्रतालु र श्रद्धालुहरूको भीड लाग्नेछ । बाँसका सामग्री, फलफूल, उखु, ठकुवा, भुसुवालगायत पूजासामग्रीसहित व्रतालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गर्नेछन् ।
छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि पर्व विधिवत् सम्पन्न हुनेछ । त्यसपछि व्रतालुहरूले पारण गरी चारदिने कठिन व्रत समापन गर्नेछन् ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने छठ पर्वमा परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामना गरिन्छ । धार्मिक आस्थासँगै सामाजिक सद्भाव र समानताको प्रतीकका रूपमा समेत छठ पर्वलाई लिइन्छ ।
छठ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रका घरघरमा छठका पारम्परिक गीत गुञ्जिन थालेका छन् । छठघाटको सरसफाइ, सजावट र व्यवस्थापनको काम पनि तीव्र बनेको छ । बजारमा पूजासामग्री किन्नेको चहलपहल बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…