धनुषाको बटेश्वरमा सरकारी नोकरीमा रहेका १२७ जना राष्ट्रसेवक कर्मचारीलाई 'बटेश्वर रत्न' सम्मान
समाजले बटेश्वरको इतिहास, धार्मिक धरोहर, सम्पदा, सरकारी सेवा, कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रका उपलब्धि, सफलता र संघर्षका कथाहरू समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत

२०८३ कार्तिक २६ बिहीबार, बिहान १०:४५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई देशका विभिन्न स्थानमा सरकारी सेवामा कार्यरत १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न २०८३’ बाट सम्मानित भएका छन् ।
बटेश्वर नागरिक समाजले मंगलबार बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजना गरेको विशेष समारोहमा उनीहरूलाई सम्मान गरेको हो । नागरिक समाजका संयोजक डा. सुनिल सिंहका अनुसार गाउँपालिकाका पाँचवटै वडाबाट संकलन गरिएको तथ्यांकका आधारमा पहिलो चरणमा समारोहमा उपस्थित १२७ जना कर्मचारीलाई सम्मान गरिएको हो ।
सरकारी सेवामा प्रवेश गरेका कर्मचारीको मनोबल बढाउने, जन्मभूमिप्रतिको अपनत्व र उत्तरदायित्वको भावना जागृत गराउने तथा नयाँ पुस्तालाई लोकसेवा आयोगको प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको नागरिक समाजले जनाएको छ ।
कार्यक्रमको उद्घाटनसमेत स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै फरक शैलीमा गरिएको थियो । स्थानीय कृषि उपज, माटो तथा बाँसबाट निर्मित भाँडाकुँडा र अन्य सामग्रीको प्रदर्शनीमार्फत स्थानीय उत्पादनको महत्त्व उजागर गरिएको थियो । स्थानीय उत्पादनमा योगदान पुर्याउने उत्पादकहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमका संयोजक एवं स्थानीय पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’ले आगामी वर्षदेखि निश्चित मापदण्ड बनाएर सरकारी सेवा, कृषि, उद्योग, व्यवसाय, सञ्चारलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूको पहिचान गरी ‘बटेश्वर रत्न’बाट सम्मान गर्ने योजना रहेको जानकारी दिए ।
समारोहका प्रमुख अतिथि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजकिशोर महतो थिए । विशिष्ट अतिथिका रूपमा गाउँपालिका अध्यक्ष रामअशिष महतो, कबिर बालवात्सल्य आश्रम जनकपुरधामका सञ्चालक सन्त सत्यनारायण आलोक, महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक एवं सहसचिव रामप्रकाश महतो तथा हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतो सहभागी थिए ।
सम्मान कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष अशोककुमार महतो, वडा नम्बर ३ का अध्यक्ष राममणि कुशवाहा, वडा नम्बर ५ का अध्यक्ष शिवकरण यादव तथा शिवशक्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटलगायतले सहयोग गरेका थिए ।
समारोहको अवसरमा नेपाल रेडक्रस सोसाइटी जनकपुर र ब्लड फर नेपालको सहयोगमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो । ब्लड फर नेपालका अध्यक्ष सरोजकुमार महतोका अनुसार कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
विभिन्न क्षेत्रमा कार्यरत सचेत युवा तथा प्रबुद्ध नागरिकहरूको पहलमा गठन भएको बटेश्वर नागरिक समाजले समाज रूपान्तरणका लागि सकारात्मक कार्यलाई प्रोत्साहन गर्ने र नकारात्मक गतिविधिविरुद्ध खबरदारी गर्ने उद्देश्य लिएको छ ।
समाजले बटेश्वरको इतिहास, धार्मिक धरोहर, सम्पदा, सरकारी सेवा, कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रका उपलब्धि, सफलता र संघर्षका कथाहरू समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत वार्षिक रूपमा प्रकाशन गर्ने लक्ष्य राखेको समारोहका सञ्चालक शत्रुधन शर्माले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…