Lover सँग विवाह गर्न मोबाइल टावरमा चढिन् साईदा खातुन, चार घण्टापछि Video Call बाट निकाह
निकाह सम्पन्न भएपछि बिहान करिब १० बजे साइदा सुरक्षित रूपमा टावरबाट तल ओर्लिएकी थिइन् ।
२०८३ कार्तिक ७ शनिबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रेमीसँग विवाह गर्न परिवारले अस्वीकार गरेपछि भारतको उत्तर प्रदेशमा एक १८ वर्षीया युवती मोबाइल टावरमा चढेकी छन् । शुक्रबार बिहान टावरमा चढेकी युवतीले परिवार विवाहका लागि सहमत भएपछि प्रेमीसँग भिडियो कलमार्फत निकाह गरेकी हुन् ।
प्राप्त विवरणअनुसार, मोतीपुर थाना क्षेत्रकी साइदा नामकी युवती सोही गाउँका २१ वर्षीय नुरुद्दिनसँग प्रेम सम्बन्धमा थिइन् । नुरुद्दिन हाल रोजगारीका सिलसिलामा मुम्बईमा छन् । सामाजिक तथा सामुदायिक भिन्नताका कारण दुवै परिवार उनीहरूको विवाहको विपक्षमा थिए ।
परिवारले विवाहका लागि सहमति नजनाएपछि साइदा शुक्रबार बिहान करिब ६ बजे गाउँकै मोबाइल टावरमा चढेकी थिइन् । घटनाको जानकारी पाएपछि प्रहरी, छिमेकी र गाउँले घटनास्थल पुगेका थिए । उनीहरूले युवतीलाई तल ओर्लिन आग्रह गरे पनि विवाह नभएसम्म नओर्लिने अडान उनले लिएकी थिइन् ।
त्यसपछि प्रहरीले दुवै पक्षका अभिभावकलाई बोलाएर छलफल गराएको थियो । करिब चार घण्टाको प्रयासपछि दुवै परिवार विवाहका लागि सहमत भएका थिए । त्यसपछि काजीलाई बोलाएर मुम्बईमा रहेका नुरुद्दिनसँग भिडियो कलमार्फत अनलाइन निकाह सम्पन्न गराइएको विवरणमा उल्लेख छ ।
निकाह सम्पन्न भएपछि बिहान करिब १० बजे साइदा सुरक्षित रूपमा टावरबाट तल ओर्लिएकी थिइन् ।
मोतीपुर थानाका प्रहरी निरीक्षक ब्रह्मा गोन्डका अनुसार युवतीको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीयवासीको सहयोगमा घटनाको समाधान गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…