वीरगँजको क्यासिनोमा प्रहरीको छापामारी, नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ
जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको भन्ने सूचनापछि कारबाही गरिएको

२०८३ कार्तिक ५ बिहीबार, बिहान ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगन्जस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल रहेका छन् । त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसाद पनि पक्राउ परेका छन् ।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको भन्ने सूचनापछि कारबाही गरिएको हो ।
नेपालको क्यासिनो सञ्चालनसम्बन्धी कानुनी व्यवस्थाले नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न निषेध गरेको छ । उक्त व्यवस्थाविपरीत कार्य भएको आरोपमा नियन्त्रणमा लिइएका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…