विदेश जाने श्रमिकसँग ठगी प्रकरणमा पूर्वमन्त्री शेरबहादुर, रामेश्वर यादवसहित ६ जना पक्राउ
उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।

२०८३ मंसिर ३ बिहीबार, बिहान ७:०९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । मलेसिया वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पूर्वश्रममन्त्री रामेश्वर राय यादव पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार उनलाई अर्का पूर्वश्रममन्त्री शेरबहादुर कुँवरसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
के हो ठगी प्रकरण ?
यो प्रकरण मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अतिरिक्त शुल्क असुलीसँग सम्बन्धित छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मलेसिया जाने श्रमिकबाट सरकारले तोकेको स्वास्थ्य परीक्षण शुल्कबाहेक थप रकम असुली गरिएको थियो । म्याक्रो टेक प्रालिमार्फत बायोमेडिकल सेवाको नाममा श्रमिकबाट गैरकानुनी रूपमा रकम संकलन गरिएको आरोप छ ।
२०७५ सालको अन्त्यदेखि प्रतिश्रमिक १०० मलेसियन रिंगेटका दरले रकम असुली गरिएको अनुसन्धानमा खुलेको छ ।
१ अर्ब ६९ करोड रुपैयाँ विदेश पठाएको आरोप
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउने निर्णय भएको थियो ।
उक्त रकम गैरकानुनी रूपमा विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको, श्रमिकमाथि भइरहेको ठगी रोक्न आवश्यक पहल नगरेको र पद तथा अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्णय गरेको आरोप पूर्वमन्त्री तथा कर्मचारीहरूमाथि छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…