फेटामा अस्पताल उद्घाटनलाई लिएर रास्वपा–एमाले कार्यकर्ताबीच झडप, प्रहरीको गोली लागेर किशोर घाइते
अस्पताल परिसरमा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् । उद्घाटनका लागि तयार पारिएको टेन्ट र शिलालेखसमेत तोडफोड गरिएको छ

२०८३ कार्तिक १५ आइतबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर शनिबार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर १५ वर्षीय आदित्य पासवान घाइते भएका छन् । फेटा गाउँपालिका–३ निवासी पासवानको तिघ्रामा गोली लागेको छ । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । ढुंगामुढाबाट पाँच प्रहरीसमेत घाइते भएका छन् ।
अस्पताल परिसरमा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै १० वटा मोटरसाइकलमा आगजनी गरेका छन् । उद्घाटनका लागि तयार पारिएको टेन्ट र शिलालेखसमेत तोडफोड गरिएको छ ।
अस्पताल उद्घाटनमा रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटा सहभागी हुने कार्यक्रम थियो । अस्पताल निर्माण आफ्नो कार्यकालमा सुरु भएको भन्दै एमालेबाट निर्वाचित पूर्वगाउँपालिका अध्यक्ष अमिरीलाल साह कानुले उद्घाटन रोक्न र शिलालेखमा रहेको नाम हटाउन माग गरेपछि विवाद सुरु भएको प्रशासनले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वअध्यक्षको नेतृत्वमा करिब २५० जनाको समूह कार्यक्रमस्थल पुगेपछि विवाद झडपमा परिणत भएको थियो । भीड नियन्त्रण गर्न प्रहरीले सुरुमा लाठीचार्ज गरेको र त्यसपछि गोली चलाएको बताइएको छ । यद्यपि प्रहरीले हवाई फायर गरेको दाबी गरेको छ भने गोली कसको हतियारबाट चलेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
घटनाका क्रममा इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारी झन्डै दुई घण्टा भवनभित्र थुनिएका थिए । जिल्ला प्रशासन र सुरक्षाकर्मीको पहलमा उनीहरूको सकुशल उद्धार गरिएको छ । घटनामा संलग्न कसैलाई पनि तत्काल पक्राउ नगरिएको प्रशासनले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…