मधेश कांग्रेसको नेतृत्वमा वीरेन्द्र सिंहको दाबी, प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा
सिंहले आफ्नो उम्मेदवारीलाई सफल बनाउन नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग साथ र सहयोगको अपेक्षा गरेका छन्।

२०८३ कार्तिक १४ शनिबार, बिहान ९:२० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश नेतृत्वका लागि पार्टीका युवा नेता तथा मधेश प्रदेशका उपसभापति वीरेन्द्र प्रसाद सिंहले प्रदेश सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनको उम्मेदवारी घोषणासँगै प्रदेश कांग्रेसको आगामी नेतृत्व चयनलाई लिएर पार्टीभित्र चर्चा सुरु भएको छ।
पार्टी संगठनमा तृणमूल तहदेखि काम गर्दै आएका सिंह हाल मधेश प्रदेश कांग्रेसका उपसभापति हुन्। उनी पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका छन्। त्यस्तै, उनी प्रदेशसभा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री पनि हुन्।
प्रखर वक्ताका रूपमा परिचित सिंहले पार्टी संगठनलाई थप सबल, गतिशील र जनतासँग जोड्ने उद्देश्यसहित सभापति पदमा उम्मेदवारी दिन लागेको बताएका छन्। उनको उम्मेदवारीलाई समर्थकहरूले पार्टीभित्र नयाँ ऊर्जा र संगठनात्मक सक्रियता बढाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।
सिंहको राजनीतिक यात्रा र संगठनात्मक जिम्मेवारीलाई उनको उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको छ। प्रदेश उपसभापति, संगठन विभाग प्रमुख र संसदीय दलको उपनेताका रूपमा उनले पार्टी तथा संसदीय राजनीतिमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
उनको उम्मेदवारीसँगै मधेश प्रदेश कांग्रेसको आगामी नेतृत्व चयनमा संगठनात्मक अनुभव, युवा नेतृत्व र पार्टीलाई जनतासँग जोड्ने एजेन्डा प्रमुख बहसका विषय बन्ने देखिएको छ।
सिंहले आफ्नो उम्मेदवारीलाई सफल बनाउन नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग साथ र सहयोगको अपेक्षा गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…