१०औँ राष्ट्रिय खेलकुदका लागि धनुषामा जिल्ला छनोट सुरु हुँदै, २८ खेलका खेलाडी छानिने
जिल्ला खेलकुद विकास समिति, धनुषाका कार्यालय प्रमुख प्रमेन्द्र कुमार बछारको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानु गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

२०८३ कार्तिक १४ शनिबार, बेलुकी ७:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि धनुषामा जिल्ला स्तरीय खेलाडी छनोट प्रक्रिया सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, धनुषाले आगामी कात्तिक १६ गतेदेखि २८ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्ने खेलाडी छनोट गर्ने भएको हो ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट २८ खेलका खेलाडीले सहभागिता जनाउने कार्यक्रम छ ।
प्रतियोगितामा धनुषाको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले शनिबार जिल्ला स्तरीय खेलाडी छनोट तथा तयारीसम्बन्धी छलफल बैठक सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समिति, धनुषाका कार्यालय प्रमुख प्रमेन्द्र कुमार बछारको अध्यक्षतामा सम्पन्न बैठकमा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानु गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
बैठकमा धनुषाबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडी छनोट प्रक्रिया, आवश्यक तयारी तथा विभिन्न खेलकुद संघबीचको समन्वयका विषयमा छलफल गरिएको थियो ।
बैठकमा मधेश खेलकुद परिषद्का कार्यकारिणी सदस्य एवं प्रदेश एथलेटिक्स संघका अध्यक्ष दिपेन्द्र कुमार गोईत, तालिम तथा प्रशिक्षण निर्देशक भरत यादवसहित जिल्लाका विभिन्न खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान र राष्ट्रिय स्तरमा धनुषाको पहिचान स्थापित गर्न खेलकुद संघ, प्रशिक्षक तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा बैठकले जोड दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…