‘जबसम्म सास छ, तबसम्म आश छ’, विश्वासको मत जुटाउने मुख्यमन्त्री यादवको प्रयास जारी
एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण

२०८३ कार्तिक १३ शुक्रबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत जुटाउन अन्तिम समयसम्म राजनीतिक प्रयास जारी राख्ने बताएका छन्। विश्वासको मतका पक्षमा वा विपक्षमा जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने उनको भनाइ छ।
सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अन्य दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको र विश्वासको मत लिने समयसम्म राजनीतिक परिस्थिति अनुकूल बन्ने आशा व्यक्त गरे। उनले भने, ‘जबसम्म सास छ, तबसम्म आश गर्नुपर्यो नि।’
नेकपा एमालेले गत असोज ३० गते १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो। तर, सहमतिका कतिपय बुँदा कार्यान्वयन भइसकेको र केही प्रक्रियामा रहेको मुख्यमन्त्रीको दाबी छ।
प्रदेशमा नयाँ गठबन्धन बन्ने चर्चालाई उनले सामान्य राजनीतिक प्रक्रियाका रूपमा व्याख्या गर्दै दलहरूबीच मुद्दा, उद्देश्य र स्वार्थ मिले गठबन्धन बन्ने र फेरिने बताए। सरकारको भविष्यबारे पार्टीको केन्द्रीय नेतृत्वसँग पनि नियमित सम्पर्कमा रहेको उनले जानकारी दिए।
मुख्यमन्त्री यादवले कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक छ।
प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्।
एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण बनेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…