डा. सिके राउतको 'बीर मधेशी' किताब सहित विप्लवका तीन कार्यकर्ता पक्राउ
सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धाकधम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०७७ फागुन १५ शनिबार, राति ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको अध्यक्ष डा. सिके राउतद्धारा लिखित किताब सहित नेत्रविक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।
आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, डा. सिके राउतद्धारा लिखित वीर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको पत्र, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा, नेकपा जिल्ला सप्तरीको मिति २०७७ असार १६ गतेको पर्चालगायत चार थान मोबाइल बरामद गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहा÷सप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् ।
सप्तरी जिल्लामा केही समयदेखि विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग गर्ने, धाकधम्की दिने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…