प्रदेश २ः दानवीर पिताको स्मृतिमा छोराले दिए १ करोडको जग्गादान, चारैतर्फ प्रशंसा
“हेर्नुहोस्, जन्मेपछि मर्नुपर्छ, मर्दा लादिएर कुनै सम्पत्ति आफूसँग जाने हैन”, सुवर्णले भने, “समाज हितमा लगाएको सम्पत्ति कहिल्यै नास हुँदैन, म त अरु हुनेलाई पनि मनकारी भएर सामाजिक क्षेत्रमा योगदान गर्न अपिल गर्छु ।”

२०७७ फागुन ३ सोमबार, बिहान ९:३१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को एक दानबीर पिताका छोराले एक करोड बराबरको जग्गा दानमा दिएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ का सुवर्ण पौडेलले आफ्ना दिवङ्गत पिताको स्मृतिमा वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्यको जग्गा दान गरेका छन् ।
समाजसेवामा जग्गा दान र श्रम गर्नबाट कहिल्यै नथाक्ने स्व पिता कृष्णप्रसाद पौडेलको स्मृतिमा सुवर्णले एक करोड मूल्यको चार कठ्ठा नौ धुर जग्गा वडा कार्यालय भवन निर्माण प्रयोजनका लागि दान गरेको हो ।
बर्दिबास–१३ बिजलपुरा डाँडाटोलचोक नजिकै प्राप्त भएको जग्गामा अब वडा कार्यालय भवन बनाइने वडाध्यक्ष श्यामप्रसाद राउतको भनाइ छ । “वडा कार्यालयका लागि फराकिलो भवन र भवनका लागि जग्गा आवश्यक थियो”, वडाध्यक्ष राउतले भने, “सुवर्णले आफ्ना दानवीर पिताको स्मृतिमा जग्गा दिएर हामीलाई भवन निर्माणमा हौस्याउनुभएको छ ।” बर्दिबास–१३ वडा समितिका नाउँमा हालै दानपत्रबाट प्राप्त जग्गामा अब चाँडै भवन निर्माणको काम थालिने उनले बताए ।
सुवर्णले पिताको स्मृतिमा जग्गा दिनु भएपछि उहाँकै सहोदर काकाका छोरा सत्य र विमल पौडेलबाट पनि वडा समितिलाई थप एक कठ्ठा जग्गा सोही कित्तामा जोडिएर निःशुल्क प्राप्त भएको वडा कार्यालयले जनाएको छ । “सुवर्णका पिताजी स्व कृष्णप्रसाद आफैँ दानवीर हुनुहुन्थ्यो”, वडाध्यक्ष राउतले भने, “सुवर्णले दानवीर पिताको सिको गर्दै सामाजिक क्षेत्रका काममा चासो बढाउनुभएको छ, सुवर्णसँगै उहाँकै परिवारभित्रबाट थप जग्गा प्राप्त भएको छ ।”
स्व कृष्णप्रसादले यसअघि नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखाको भवन निर्माणका लागि पाँच कठ्ठा, बिजलपुरा स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि चार कठ्ठा जग्गा दान गर्नुभएको राउतले स्मरण गर्नुभयो । यसबाहेक साविक बिजलपुरा गाविस भवन निर्माणका लागि पनि स्व पौडेलबाट निःशुल्क जग्गा प्राप्त भएको राउतले उल्लेख गरे ।
“उहाँ (स्व कृष्णप्रसाद) जग्गादान गरेरमात्र हैन, हरेक सामाजिक काममा अग्रसर भएर सबैलाई हौस्याउनुहुन्थ्यो”, स्व पौडेलको सामाजिक कार्यमा अग्रसर भएर लाग्ने सेवाभाव सम्झँदै राउतले भने, “ उहाँका काम सम्झेर हामीलाई सामाजिक काममा लाग्न प्रेरणा मिल्दछ ।” यसैबीच सुवर्णले जनता मावि डाँडाटोल बिजलपुराको स्वामित्व रहने गरी कृषिउपज बेचविखन (तरकारी फसल बेच्ने ठाउँ, तरकारी बजार) का लागि एक कठ्ठा १० धुर जग्गा दान गरेका छन् ।
“म यसै ठाउँमा जन्मे, हुर्के”, सुवर्णले भने, “स्व पिताजीले सामाजिक क्षेत्रमा देखाउनुभएको चासोलाई निरन्तरता दिएको हुँ ।” वडा कार्यालय भवनको जग्गा पास गरिदिएपछि आफ्नो ठाउँ तरकारी उत्पादनको पकेटक्षेत्र भएको हुँदा किसानको सुविधा बढाउन तरकारी बजारका लागि जग्गा दिने घोषणा गरेको सुवर्णले बताए ।
“हेर्नुहोस्, जन्मेपछि मर्नुपर्छ, मर्दा लादिएर कुनै सम्पत्ति आफूसँग जाने हैन”, सुवर्णले भने, “समाज हितमा लगाएको सम्पत्ति कहिल्यै नास हुँदैन, म त अरु हुनेलाई पनि मनकारी भएर सामाजिक क्षेत्रमा योगदान गर्न अपिल गर्छु ।”
बिजलपुरा डाँडाटोलका पौडेल परिवार भन्नासाथ बर्दिबास नगर क्षेत्रभित्र सम्मानभाव व्यक्त हुने गरेको बर्दिबास नगरप्रमुख विदुरकुमार कार्की बताउँछन्। पिताजी कृष्णप्रसादले दिनुभएको सामाजिक योगदान स्मरणीय रहेको र सुवर्णले पिताको पदचिह्न पछ्याएर चासो बढाएको कार्कीको भनाइ छ ।
“स्व कृष्णप्रसादले दिनुभएका जग्गामा रेडक्रस भवन, स्वास्थ्यचौकी भवन र विद्यालय भवन छन्”, नगरप्रमुख कार्कीले भन्नुभयो, “यी सबैले उहाँलाई सम्झाइरहनेछन् ।” समाजसेवामा सम्पत्ति दिएर र श्रम गरेर नथाक्ने पौडेलको चार वर्र्षअघि २०७४ सालमा निधन भएको समय दुःखद् क्षणका रूपमा कार्कीले सम्झे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…