राष्ट्रिय योग दिवसमा मिर्चैयामा प्रभातफेरी : मानवका लागि योगा जरुरी नै किन ?
योग वैदिक चिकित्सा पद्धति भएकाले सबै मानवले यसलाई अंगाल्न जरुरी रहेको राप्रपाका केन्द्रीय नेतासमेत रहेका रामप्रताप साहको भनाइ छ । योगा विस्तारिकरणका लागि संघ सरकारले चाँसो देखाएपनि स्थानीय सरकार उदासीन देखिनु दुःखद भएको उनले बताए ।

२०७७ माघ १ बिहीबार, बिहान ९:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । योग गरौं डटेर, कोरोना जान्छ हटेर भन्ने मूल नाराका साथ मिर्चैयामा छैटौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
मुलुकभर मनाइएको राष्ट्रिय योग दिवसमा मिर्चैयामा योगासँगै प्रभातफेरी पनि गरिएको छ । नगर पतञ्जली योग समिति मिर्चैयाको आयोजनामा भएको उक्त कार्यक्रममा विहान ४ बजेदेखि साढे ६ बजेसम्म साढे दुई घण्टा योगा र त्यसपछि प्रभातफेरी गरिएको हो ।
मिर्चैयाको कटारी चोकबाट निस्केको र्याली साँझा चोक हुँदै पुनः कटारी चोकमा गएर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमा योग गरौं, निरोग रहौं, योग गरौं डटेर, कोरोना जान्छ हटेर लगायतका नारा लगाइएको थियो ।
सो अवसरमा नगरका विभिन्न स्थानबाट सर्वसाधारणहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
योगलाई देशव्यापी बनाउन सरकारले २०७२ साउन ४ गतेको निर्णयानुसार माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसयता नेपालमा हरेक वर्ष विविध कार्यक्रम गरी माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ ।
कार्यक्रममा योगाभ्यासको आवश्यकता र औचित्यको बारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा वक्ताहरुले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताएका छन् ।
योगले शारिरीक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले मानवले योगा नगरी नहुने चिज भएको सागरमाथा उमाविका सञ्चालकसमेत रहेका प्रदीप तिवारी बताउँछन् । निरोगी, दीर्घजीवन, सदाचार अनुशासन र चरित्र निर्माणमा योग अभ्यासले मद्दत पुर्याउने धारणा उनले व्यक्त गरे ।
योग वैदिक चिकित्सा पद्धति भएकाले सबै मानवले यसलाई अंगाल्न जरुरी रहेको राप्रपाका केन्द्रीय नेतासमेत रहेका रामप्रताप साहको भनाइ छ । योगा विस्तारिकरणका लागि संघ सरकारले चाँसो देखाएपनि स्थानीय सरकार उदासीन देखिनु दुःखद भएको उनले बताए ।
यस्तै, पतञ्जली मिर्चैयाका अध्यक्ष अकलदेव सिंहले समयसँगै परिवर्तन भएको मानिसको जीवनशैलीले विभिन्न समस्या निम्त्याएको स्मरण गर्दै तनाव व्यवस्थापनमा योगले ठूलो भूमिका खेल्ने बताए ।
शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढ्दै गएको छ । यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरमै अन्तराष्ट्रिय योग दिवस मनाउन थालिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…