जनकपुरः सरकारी स्कूल तोडफोड गर्ने यादव पक्राउ, अर्कालाई खोज्दै प्रहरी
प्रमाणको आधारमा उनीहरुलाई सार्वजनिक सम्पति तोडफोड, सार्वजनिक अपराधको मुद्दामा कारवाही हुने : सिडिओ भट्टराई

२०७७ असोज १ बिहीबार, दिउँसो ४:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसविघा स्थितको समुदायिक विद्यालयमा तोडफोड गर्ने एक जना पक्राउ परेका छन् ।
गएराती नै करिब ९ बजेको समयमा मदिरा सेवन गरी मातेका स्थानीय ३८ बर्षिय दिलीप यादव र अन्दाजी ३० बर्षिय बीरेन्द्र यादवले त्यहाँ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालयको नव निर्मित भवन तोडफोड गरेको आरोपमा पक्राउ परेका छन् ।
धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसबिघामा केही दिन अघि नै निर्माण गरिएको समुदायिक विद्यालयमा गएराती उनीहरुले गाउँमा आफूहरुलाई कसले के गर्न सक्छ ? भन्दै सिसाको झयाल तोडफोड गरेपछि आज पक्राउ परेका हुन् ।
तोडफोड गर्ने स्थानीय दिलीप यादव पक्राउ परेका छन् भने सोही घटनामा सँलग्न रहेका वीरेन्द्र यादव भने फरार रहेको ईलाका प्रहरी कार्यालय धनुषाधामलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवम् प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । उनले, ईलाका प्रहरी कार्यालय धनुषाधामले एक जनालाई पक्राउ गरेको जानकारी मात्र दिएको बताए ।
यता, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले समुदायिक विद्यालय तोडफोडबारे आफूलाई समाचारको माध्यमले जानकारी भएको भन्दै सो ठाउँमा जिल्ला प्रहरीको स्पेशल टिम सर्च अपरेशनमा पठाईएको जानकारी दिए ।
सिडिओ भट्टराईले प्रमाणको आधारमा उनीहरुलाई सार्वजनिक सम्पति तोडफोड, सार्वजनिक अपराधको मुद्दामा कारवाही हुने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…