हरेकदिन ३०० बढी भोकालाई खाना खुवाउँदै विराटनगरका युवाहरु
यसलाई आवश्यकता परेअनुसार जुनसुकै समयमा निरन्तरता दिने योजना उनीहरूको छ ।

२०७७ भदौ १८ बिहीबार, बिहान ८:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । पहिले लकडाउन भयो, अहिले निषेधाज्ञा छ । जनता घरमै छन् । अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै थुनिएका छन् ।
स्वास्थ्य मन्त्रालयको “प्रोटोकल” अनुसार संक्रामक रोगबाट बच्ने अन्तिम विकल्प पनि यही नै हो, सकभर घरबाहिर कामबेगर ननिस्किनू ।
कोरोना कहरसँगै लकडाउन सुरू भयो । सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगे । सडकपेटीमै बस्नेहरूको त झन् न घर छ, न आफन्त न खानेकुरा । पहिले मानिसहरूको आवागमन हुँदा उनीहरू हात फैलाउँथे, पाएको काम गरेर जीविका चलाउँथे ।
कसैले इच्छाले दिएको दान (रुपैयाँ) ले मुखमा माड लाग्थ्यो, कमाएको रकमले जे–जस्तो छाक टर्थ्यो । हिजोआज कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनभन्दा दर्बिलो शैलीमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेको छ ।
विराटनगर महानगरपालिकामा पनि निषेधाज्ञा जारी छ । यस्तोमा अहिले सडकमै बास भएका भिख मागेर खाने दुई सय हाराहारी र अन्य मजदुरहरूको अवस्था के भयो होला ?
उनीहरूको भोको पेटको चिन्ता स्थानीय युवाहरूले गरेका छन् । संक्रामक रोगको पर्वाह नगरी केही युवाहरू सडकमा दिनहुँ असहायलाई खान बाँड्दै हिँडिरहेका छन् ।
ती असहायहरू भोकै “नमरून्” भनेर विराटनगरका युवाहरूले दैनिक खाना खुवाउन थालेको पनि अहिले भर्खर होइन । स्थानीय निकाय, प्रदेश सरकार, स्थानीय प्रशासन कसैको नजरमा नपरेका ती असहायलाई युवा वसिम आलमको नेतृत्वमा महिनौंदेखि खाना खुवाइरहेका छन् ।
पहिलोपटक लकडाउन सुरू भएपछि नै असहायलाई निस्शुल्क खाना खुवाउने अभियान थालिएको युवा अभियन्ता राकेश रोशन यादव बताउँछन् ।
लकडाउन अन्त्यपछि निषेधाज्ञा जारी हुँदा सडकपेटीमा बस्नेहरु भोकै देखिएपछि यहाँका युवाहरुले यस अभियानलाई निरन्तरता दिएका हुन् । अभियानलाई निरन्तरता दिँदै फेरि बिहान ८–१० र बेलुका ७(९ बजेसम्म खाना खुवाउने काम गरिरहेको आलमले बताए ।
हरेक दिन ३ सयको हाराहारीमा खाना खुवाइने गरिएको छ । आलमले यो अभियान राजनीतिभन्दा टाढा रहेको बताए । निःशुल्क खाना पकाउने(खुवाउने अभियानमा कुनै ब्यानर(झन्डा बोक्न नपाइने नियम पनि छ ।
यो समयमा अभियानका सदस्यलाई हिँडडुल गर्न, सामान जुटाउन प्रहरीले रोकटोक गरेको छैन । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिएकाले समस्या छैन ।
यसलाई आवश्यकता परेअनुसार जुनसुकै समयमा निरन्तरता दिने योजना उनीहरूको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…