निषेधाज्ञाकै कारण वन तस्करी बढयो
वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ ।

२०७७ भदौ १२ शुक्रबार, बिहान ९:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । कोरोना भाइरसको सँक्रमण रोक्न सरकारले लगाएको निषेधाज्ञाको मौका छोपेर वन तस्करी बढेको छ ।
प्रदेश नं. २ को महोत्तर जिल्लाको वन क्षेत्रमा निषेधाज्ञाको मौका छोपेर वन तस्करहरुले वन तस्करीमा सक्रियता बढाएको देखिएको छ । सुरक्षाकर्मीहरु शहर, गाउँमा सक्रिय हुँदा वन तस्करहरुले मौका पाएको छ ।
स्थानीय प्रशासनले निरन्तर निषेधाज्ञाको समयम बढाउँदै जाँदा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ ।
चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल )काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जनाएका छन् ।
“हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “तश्करले रुख कटान गर्ने र अवैधरुपमा सञ्चालनमा रहेका फर्निचर उद्योगले चिरान गराएर लुकीछिपी बेच्दा रहेछन् ।” यसरी चोरी कटान हुने रुखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ ।
आम मानिस र वन सुरक्षा जवान कफ्र्यूले सक्रिय नहुने अनुमानमा तश्करले यो समय प्रयोग गर्ने गरेका छन् । यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाई राखिएका साखुकै १०० क्यूविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो ।
यसअघि गतचैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्यूविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा तथ्याङ्क छ ।
लकडाउन र कफ्र्यूभित्र वनसम्पदा चोरी कटान र वन्यजन्तुको अवैध शिकार बढेपछि कार्यालयले गतचैतदेखि नै समय तालिकासहित तीनवटा वन सुरक्षा गस्ती परिचालित गर्दै आइएको कार्यालयले जनाएको छ ।
लकडाउन शुरु भएको गत चैत यता हालसम्म करिब ५०० क्यूविक फिट चोरीका साखुका काठ बरामद गरिएको छ । काठ चोरीमा प्रयोग गरिने हतियार, काठ ओसार्न प्रयोग गरिएका साइकल, मोटरसाइकल र टेम्पुसहित साधन नियन्त्रण लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…