कोरोनाबाट प्रदेश २ मा ५८ जनाको मृत्यू
अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना सङ्कलन गरिएको छ ।

२०७७ भदौ ५ शुक्रबार, बेलुकी ६:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीको चपेटामा सबभन्दा बढी अहिलेसम्म प्रदेश नं. २ बाट मृत्यू भएको छ । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ ।
यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५८ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जारी गरेको जानकारीमा ५७ जनाको मृत्यू पुष्टि गरिएको छ भने आज (शुक्रबार) अपरान्ह बीरगँजमा थप एकजना मृतकमा कोरोना पुष्टि भएपछि सँख्या ५८ पुगेको हो ।
यस प्रदेशअन्तर्गतका आठवटै जिल्लाबाट कोरोनाको सङ्क्रमणको चपेटामा परेको छ । सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ । सो जिल्ला कोरोनाबाट २४ जनाको ज्यान गइसेकेको छ भने दोस्रो धनुषा जिल्लामा नौ जनाको मृत्यु भएको छ ।
त्यस्तै, बारामा छ, सप्तरीमा चार, रौतहटबाट तीन, महोत्तरी र सिरहाबाट दुई/दुई र सर्लाही जिल्लामा एकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बिहीबार अपराह्नसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६३ पुगेको छ । सोमध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ । प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्य तीव्र रुपमा भइरहेको छ ।
अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
भारतबाट आउने वा सशङ्कित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २१७ वटा क्वारेन्टिनमा १३ हजार ७४८ वटा शय्याको व्यवस्था गरिएको छ । ती क्वारेन्टाइनमा एक हजार ३२७ जनालाई क्वारेन्टिन राखिएको छ भने होम क्वारेन्टिनमा दुई हजार १८८, आइसोलेशनमा ४६१ र होम आइसोलेशनमा ७६२ जना बसेका छन् ।
यस प्रदेशको आठवटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ । भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । सीमानामा आवतजावतमा रोक लगाइएको भएपनि लुकिछिपी भित्रिने व्यक्तिमध्ये कतिपय कोरोनाबाट सङ्क्रमित पाइएका छन् ।
त्यस्ता व्यक्तिहरु परिवारमा घुलमिल गरेर बसेपछि कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…